logo
२०८१ जेष्ठ ३ बिहीवार



प्रचण्ड गर्मीका कारण तराइको जनजीवन कष्टकर बन्दै

खुला |


प्रचण्ड गर्मीका कारण तराइको जनजीवन कष्टकर बन्दै
महागढीमाई नपा ३ को औषधि पसलमा खरिद गर्न लाम लागेका स्थानीयहरु



शिवशङ्कर मिश्र
बारा, असोज ११ गते । प्रचण्ड गर्मीका कारण समग्र तराइ क्षेत्रको जनजीवन निकै कष्टकर बन्दै गएको छ । चर्को घाम र उच्च तापक्रमले बारा जिल्लाको जनजीवन अझ बढी प्रभावित बनेको हो । गर्मीले सर्वसाधारण छटपटिएका छन् भने, टाउको दुख्ने बिरामीको सङ्ख्या ह्वाट्टै बढेको छ ।
जिल्लाका केही भेगमा सिमसिम पानी परी बन्द भएपछि त्यसको प्रभावबाट हुने गर्मीका कारण कलैया, जीतपुर, सिमरा, महागढीमाई, सिम्रौनगढ, कोल्हवी, निजगढ लगायतका ठाउँमा स्थानीयहरु बढी प्रभावित बनेका छन् ।
उनीहरुले टाउको दुखाइ कम गर्न राहतरुह, नवरत्ना र हिमगंगै तेल तथा भिक्स वेपोरह खरिद गर्नेको संख्यामा वृद्धि भएको औषधि पसलहरुले बताएका छन् । ३० देखि ३५ डिग्री सेल्सियस सम्मको तापक्रमले गर्दा जनजीवन प्रभावित भएको हो ।
वैशाख महिना जस्तो घाम नभए पनि भदौ र असोज महिनाको घाममा तापक्रमको प्रवाह बढी भएकाले पशुको छाला राम्रोसँग सुक्ने महागढीमाई नगरपालिका वडा नम्बर–६ तेलकुअवा टोलका नागेन्द्र पासवानले बताउनुभयो ।
प्रचण्ड गर्मीका कारण विभिन्न किसिमका स्वास्थ्य समस्या देखिन थालेकाले पर्याप्त पानी पिउन, स्वच्छ तथा ताजा खानेकुरा मात्रै खान, तातो हावा चलेको र चर्को घाम लागेका बेला काम विशेषले बाहेक घरबाहिर ननिस्कन नारायणी उपक्षेत्रीय अस्पतालका चिकित्सक डा. पप्पुकुमार जैसवालले आग्रह गर्नुभयो ।
समान्य ज्वरो, टाइफाइड, मलेरिया, डाईरिया, झाडापखाला, रुघाखोकी, टाउको दुख्ने लगायतको रोगबाट बाँच्न पटकपटक झोल भएको खाना खान चिकित्सकहरुले बताएका छन् । मौसम परिवर्तनका कारण घाम र हावामा बैक्टेरियाको प्रकोप बढी भएकाले शरिरको विभिन्न भागमा रहेका पानीको मात्रा कम गर्नेले यस्तो समस्या आएको अर्का डा. ज्ञानेन्द्रप्रसाद यादवले बताउनुभयो ।
हावामा सुखापन बढी रहेकाले स्पोजल हुन नदिन तथा यसबाट बाँच्न घाममा हिँडडुल गर्न नहुने तथा उमालेको पानी बढी खाने, कागती भएको पानी र झोलिलो पदार्थ खानेले शरीरको इम्युनिटी पावर बढ्नु, रोगसँग लड्ने क्षमतामा विकास हुने उहाँले भन्नुभयो ।
प्रचण्ड गर्मीमा बारा, पर्सा, रौतहट लगायतका जिल्लामा अनियमित रुपमा भई रहेको विद्युत कटौतीले जिल्लावासी झन हैरान भएका महागढीमाई नगरपालिका वडा नम्बर १० का कृषिविज्ञ रघुनाथप्रसाद गुप्ताले बताउनुभयो ।
नेपाल विद्युत प्राधिकरणले भने गर्मीयाममा विद्युतीय उपकरण धेरै सञ्चालन हुने भएकाले भार थाम्न नसकेर विद्युत् प्रवाहमा समस्या देखिएको तथा आफैं ट्रिप हुने गरेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कलैयाका प्रमुख हरदेवप्रसाद गुप्ताले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?