logo
२०८१ बैशाख १८ मंगलवार



मानिस मार्ने बाघ नियन्त्रणमा नआउँदा स्थानीयहरु त्रसित

खुला |
प्रदेश |


मानिस मार्ने बाघ नियन्त्रणमा नआउँदा स्थानीयहरु त्रसित


सिराज खान
नेपालगञ्ज, असोज १३ गते । गत भदौं २७ गते बेलुका राप्तीसोनारी गाउँपालिका १ कुसुमस्थित गाभरमा मानिसलाई मारेर खाने दुईवटा पाटेबाघ नियन्त्रणमा आएको छैन । बाघ नियन्त्रणमा नआएपछि स्थानीयहरु त्रसित भएका छन् ।

गाभर नजिकै चारवटा बाघ देखिएपछि झन त्रास बढेको गाभरका स्थानीय बासिन्दा देव थापाले बताउनुभयो । बस्ती नजिकै यसरी बाघ देखिएन थालेपछि दिनरात स्थानीयहरुलाई त्रसित बनाएको उहाँले बताउनुभयो । बाँके राष्टिय निकुञ्जले बाघ नियन्त्रणमा लिन हात्तीसहित प्राविधक टोली खटाए पनि सफल भएको छैन । बाघलाई नियन्त्रणमा लिन आहाराको रुपमा राखिएको राँगोलाई ६ दिनपछि बाघले राती आएर खाएर गएको थापाले बताउनुभयो ।

राँगाको आहारा खान बाघको जोडी रातको समयमा मात्र आउन थालेपछि नियन्त्रणमा लिन नसकिएको निकुञ्जका प्रमुख श्याम साहले बताउनुभयो । “बाघ दिउँसो आएर आहारा खाएको भए एकिन गर्न र नियन्त्रणमा लिन सहज हुन्थ्यो, तर सधैं रातमा मात्रै आएर आहारा खाँदा नियन्त्रण गर्न सम्भव नै भएन” साहले भन्नुभयो ।

“बाघ दिउँसो कतै देखिएको जानकारी हामीलाई आएको छैन, तर राँगाको आहारा खान दुईवटा बाघ सधैं रातको समयमा मात्रै आउने गरेको देखियो” एक कर्मचारीले भन्नुभयो । बाघलाई नियन्त्रण गर्न प्राविधिकसहितको टोली करिब दुई सातादेखि गाभर क्षेत्रमै रहेको उहाँले जानकारी दिनुभयो ।

यस्तै निकुञ्जका दुईवटा हात्ती पनि गाभरमै राखिएका छन् । निकुञ्ज सुरक्षार्थ नेपाली सेना तथा कर्मचारीको टोली पनि परिचालित रहेको स्थानीयको भनाइ छ ।

बाघलाई नियन्त्रण गर्न निकुञ्जको साधनस्रोत पनि खर्च भइरहेको भए पनि बाघ नियन्त्रणमा आएको छैन । बाघ नियन्त्रणमा नआएपछि राजमार्गमा गुड्ने साना सवारी साधन र मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दाको जीवन पनि जोखिममा रहेको स्थानीयको बुझाइ छ ।

बाघको त्रासका कारण गाभर, सौरी र सिक्टाका बासिन्दा अचेल गाई बाख्रा चराउन तथा घाँस दाउरा काट्न जंगल जान नसकेको स्थानीयको भनाइ छ । राजमार्गमा बाघको जोखिम कायमै रहेकाले पूर्व–पश्चिम राजमार्गमा साना सवारी साधनलाई रातको समयमा हिँड्न पूर्ण रुपले रोक लगाइएको स्थानीय प्रशासनले बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?