जयकृष्ण यादव
इनरुवा, असोज १३ गते । सुनसरीमा हर्सोल्लासकासाथ जितिया पर्व सम्पन्न भएको छ । यहाँका थारु, मधेसी, जनजाति महिलाहरुले मनाउने जितिया पर्व सोमबारबाट विधीवत रुपमा शुरु भई बुधबार सम्पन्न भएको हो ।
सोमबार विहानदेखि शूरु भएको ३ दिने ब्रत तथा पर्व बुधबार सम्मपन्न भएको ब्रतालुहरुले बताउनुभएको छ । जितिया पर्वको लागि उपवास बस्ने महिलाले घर आङ्गन लिपपोत गरी विहान नदी, कुवा, पोखरी, ट्यूवेल लगायत स्थानमा खल्ली, तोरीको तेल, सिन्दुर, केराको पात, तुलसीको पात, अगरवत्ती सामग्रीहरु लिएर स्नान गर्ने ठाउँमै पुजापाठ गरी जितिया पर्वको आरम्भ गरेका थिए ।
व्रतालुहरु घिरौंलाको पातमा भगवान जितमाहन र दिवङ्गत पितृलाई प्रसाद चढाइ पुजा सुरु गर्नेगरेको पर्वमा सुर्योदय हुनुपूर्व विशेषगरी माछा, दही, चिउरा, ओल, मिष्ठान लगायतको परिकार खाने गर्छन् । दिनभरको खानपिनपछि सुर्योदय हुनुभन्दा तीन चार घण्टा पहिले स–परिवार भोजन गर्ने प्रचलन रहेको छ, त्यसलाई स्थाीयले ओड्गन खाने भन्छन् ।
उपवास बसेको भोलीपल्ट ‘पारन’ अर्थात पुजापाठ गरी शुरुमा तुलसीको पात खाएर अनी मात्र भोजन गरी जितिया पर्व सम्पन्न हुन्छ । सन्तानको दीर्घ जीवन, पुत्रप्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्व रहेको छ ।
राजा शालिवहानको राज्यमा एउटी महिलाका सात जना छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई जितमहान नामाकरण गरी राजाको सम्झनामा उपवास बसेको पौरानिक कथा छ ।
सुनसरीको कोशी गाउँपालिका ७ हरिपुरमा जितिया विषेश कार्यक्रममा गोरखापत्र दैनिकका इनरुवा समाचारदाता जयकृष्ण यादवलाई सम्मान गरिएको छ । कोशी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड हरिपुरको आयोजनामा कोशी गाउँपालिका ७ हरिपुरमा जितिया विशेष कार्यक्रममा पत्रकारिताको माध्यमबाट कोशी क्षेत्रको विकासमा गरेको योगदानस्वरुप सम्मानित गरिएको संस्थाकी सचिव चन्द्रकला नेपालले जानकारी दिनुभयो । सोही कार्यक्रममा अधिकारकर्मी रमेश भट्टराईलाई समेत सम्मान गरेको संस्थाका अध्यक्ष गीता पौडेलले बताउनुभयो ।
मन्दिर उदघाटन
सुनसरीको देवानगञ्ज गाउँपालिका–६ राजगञ्ज सिनुवारीमा रहेको जितमहान मन्दिरको उदघाटन गरिएको छ । देवानगंज–६ मा नवनिर्मित जितमहान मन्दिरको जितया पर्वको अवसरमा गाउँपालिकाका अध्यक्ष लालीप्रसाद मेहताले उदघाटन गर्नुभएको हो । १० लाख रुपियाँ लागतमा सो मन्दिरको निर्माण गरिएको बताइएको छ ।