logo
२०८१ बैशाख १८ मंगलवार



थारु गाउँबस्तीमा दशैंको रमझम शुरु

खुला |
प्रदेश |
समाज |


थारु गाउँबस्तीमा दशैंको रमझम शुरु


सिराज खान
नेपालगञ्ज, असोज १३ गते । दशैं नजिकिदै गर्दा बाँके र बर्दियाका थारु गाउँबस्तीमा थारु संस्कृति झल्कने सखिया नाचको रमझम शुरु भएको छ । जिल्लाका थारु गाउँबस्तीमा दशैंकोबेला नाचिने हुरदुङग्वा र सखिया थारु नाच सुरु भएपछि गाउँघरमा रौनक बढेको स्थानीय थारु अगुवाहरुले बताएका छन् ।

दशैं आउन अझ केही दिन बाँकी हुँदा पनि गाउँबस्तीमा थारु नाचगान सुरु भएको कोहलपुर नगरपालिका ३ मैटहवाका बरघर बजारीलाल थारुले बताउनुभयो । बाँके र बर्दियाका सबै थारु गाउँमा अहिले हुरुदुङग्वा नाच, सखिया नाच, झुम्रा नाच शुरु भैसकेको बताउनुभयो । हुरुदुङग्वा र सखिया नाच नभएको गाउँ सुनसान र दशैं नआएकोजस्तो महशुस हुने गरेको बरघर थारुको बुझाई छ ।

दशैंको टीका होस् कि शुभकामना आदान–प्रदान गर्ने कार्यक्रम होस् सबै ठाउँमा थारु युवतीको छमछमी नाचले गाउँघरको परिवेश नै बेग्लै हुनेरेको छ । पुरुषले मादल बजाउने र युवतीले नाच्ने प्रचलन थारु गाउँमा कायमै छ । रंगीविरंगी थारु पहिरन लगाएर छमछमी नाच्ने सखिया नाचले दशैको महत्व झनै बेग्लै गर्नेगरेको बाँके बैजनाथ ४ का जंगी थारुले बताउनुभयो ।

उहाँकाअनुसार मादलको तालमा नाचिने नचनिया कम्मर मर्काई मर्काई नाच्न थालिसकेका छन् । दशैंकाबेला थारु समुदायको हुरदुग्वा र सखिया नाचको आकर्षणले आन्तरिक तथा बाह्य पर्यटकसमेत थारु गाउँबस्तीमा पुग्नेगरेको थारुले बताउनुभयो । दशैं शुरु हुनु पहिले नै गाउँमा थारु सांस्कृतिक कार्यक्रम शुरु भैसकेकाले सो हेर्न गाउँबस्तीमा आउने बढ्दैगएको नौबस्ताका थारु अगुवा दिपेन्द्र चौधरीले बताउनुभयो ।

थारु गाउँबस्तीमा हुरदुङग्वा र सखिया नाचको गीत गाउन शुरु भएपनि त्यसलाई नाचका रुपमा नचनियासँगै गाउने काम भने दशैंमा नै हुनेगर्छ । समुदायमा प्रायःसाँझको खाना खाएपछि भलमन्साको घरमा जम्मा भएर सामूहिकरुपमा हुरुदुङग्वा र सखिया नाच नाच्ने प्रचलन छ ।

थारु समुदाय कृषि काममा व्यस्त रहने समुदाय भएकाले दिनभरि घरको काम गर्ने र साँझको फुर्सदको समयमा नाच नाच्ने गर्छन् । पुराना पीढीले नयाँ पीढीलाई शिक्षा र सीप नसिकाउने हो भने थारुहरुको पहिचान नै हराएर जाने खतरा रहेको बारबार्दिया ४ का निमेस थारुले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?