logo
२०८१ मंसिर ८ शनिवार



कच्ची सडक र खाल्डाखुल्डीका कारण सवारी दुर्घटना बढ्यो

खुला |
प्रदेश |


कच्ची सडक र खाल्डाखुल्डीका कारण सवारी दुर्घटना बढ्यो


बेलिना थापा
लमजुङ, असोज १३ गते । ग्रामीण भेगको कच्ची र खाल्डाखुल्डी सडकका कारण सवारी दुर्घटना बढेको छ । ट्राफिक प्रहरी कार्यालय लमजुङकाअनुसार सवारी दुर्घटनामा अधिकांश कच्ची सडकका कारण भएको जनाएको छ । तीन बर्षे अवधिमा ४७ वटा दुर्घटना भएकोमा अधिकांश कच्ची सडक र मदिरा सेवन गरी सवारी चलाउँदाका कारण भएको ट्राफिक कार्यालयले जनाएको छ ।

ट्राफिक प्रहरीकाअनुसार तीन बर्षमा ५६ वटा सवारी साधन दुर्घटनामा परेको छ । ९ वटा सवारी साधनमा क्षति पुगेको छ । दुर्घटनामा परी ३० जनाको मृत्यु भएको ट्राफिक कार्यालयले जनाएको छ । ६९ जना सख्त घाइते भएका छन् । २१ जना सामान्य घाइते भएका छन् । तीन बर्षमा ९ वटा बस, ३ वटा ट्रक, १३ वटा जीप भ्यान, १६ जटा ट्याक्टर, १४ वटा मोटरसाइकल दुर्घटना भएको छ ।

ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी सहायक निरीक्षक रेशमबहादुर गुरुङकाअनुसार आर्थिक बर्ष २०७७–७८ मा २० वटा सवारी दुर्घटना भएको छ । ९ वटा सवारी साधनमा क्षति भएको ट्राफिक कार्यालयले जनाएको छ ।

प्रहरी कार्यालयकाअनुसार बस ३, ट्रक १, जिप कार भ्यान ६, ट्याक्टर ७, मोटरसाइकल ६ गरी जम्मा २३ वटा सवारी साधन दुर्घटना भएको छ । दुर्घटनामा ११ जनाको मृत्यु भएको छ । २७ जना सख्त घाइते भएका छन् । १६ जना सामान्य घाइते भएका छन् । सर्भे विना नै गाउँमा बाटो निर्माण गरिएकाले बाढीपहिरोको जोखिम बढेको र सवारी दुर्घटना हुनेगरेको ट्राफिक प्रहरीले जनाएको छ । मदिरा सेवन गरेर सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने गरेकाले पनि सवारी दुर्घटना भइरहेको प्रहरीको भनाई छ ।

चाडपर्व नजिकिएसंगै लमजुङमा ट्राफिक सक्रियता बढेको छ । चाडपर्व सुरक्षा योजना अन्तर्गत ट्राफिक प्रहरीले नागरिक लक्षित कार्यक्रम थालेको हो । सवारी सुरक्षा अन्तर्गत ट्राफिक प्रहरीले राजमार्गको अनुगमन तथा छड्के निरीक्षणदेखि चोकचोकमा दिउँसो र रातीको समयमा चेकिङ थालेको छ ।

जिल्ला ट्राफिक कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक विष्णुबहादुर नेपालीले जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीको निर्देशन तथा समन्वयमा ट्राफिक प्रहरीले आफ्नो काम अघि बढाएको बताउनुभयो ।

चाडपर्वको समय मानिसको आवतजावत बढी हुने र दुर्घटना बढी हुने जोखिमलाई मध्यनजर राखेर ट्राफिकले दुर्घटना न्यूनीकरणका काम गरिरहेको छ । दुर्घटना न्युनीकरण अन्तर्गत विभिन्न सन्देश प्रसारण, सरोकारवालासँग अनौपचारिक छलफल, पर्चा पम्प्लेटमार्फत ट्राफिक सचेतना जगाउने काम गरिरहेको प्रहरी नायव निरीक्षक नेपालीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?