logo
२०८१ बैशाख १८ मंगलवार



होमस्टे सञ्चालनले बाँकेका किसानको जीवन बदलियो

खुला |
प्रदेश |


होमस्टे सञ्चालनले बाँकेका किसानको जीवन बदलियो


सिराज खान
नेपालगञ्ज, असोज १४ गते । बाँके राष्ट्रिय निकुञ्जको स्थापनासँगै सो नजिकका क्षेत्रमा पर्यटकलाई लक्षित गरेर होमस्टे खुल्ने क्रम बढ्दैगएको छ । निकुञ्जमा बाघ हेर्न तथा शान्त वातावरणमा रमाउन स्थानीयको आकर्षण होमस्टेमा बढ्दै गएपछि होमस्टे सञ्चालक उत्साहित बनेका छन् ।

बाँकेको कम्दी करीडोरको नयाँ गाउँमा सञ्चालनमा रहेको होमस्टे नं. ७ का सञ्चालक मङ्गलसिंह थारुले होमस्टेका कारण आफस्हरुको जीवन र दिनचार्य दुबै बदलिएको बताउनुभयो । पहिले परम्परागत खेतीमा रमाउने गर्नुभएका उहाँ र उहाँको परिवार अहिले खेतिसंगै होमस्टेमा आउने पाहुनाको सत्कार गर्नमा रमाइरहनु भएको छ ।

नेपालगञ्जबाट करिब २५ किलोमिटरको दूरीमा रहेको नयाँगाउँ होमस्टे २०७२ सालमा सञ्चालनमा ल्याइएको थियो । सुरुमा ७ घरमा सञ्चालन गरिएको होमस्टे अहिले १३ घरमा सञ्चालनमा आएको स्थानीयले बताउनुभयो । सञ्चालक थारुले होमस्टेमा आउने पाहुनाका कारण आफूहरुको आम्दानीको स्रोत बढ्दै गएको बताउनुभयो । आम्दानीको स्रोत बढेपछि जीवनमा परिवर्तन आएको र दिनचर्या पनि बदलिएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो– ‘होमस्टे सञ्चालन गर्दा धेरै कुरा सिक्ने मौका पाईयो । पहिला थारु समुदायले प्रयोगमा ल्याउने गरगहना, लुगाफाटा कामै लाग्दैन भनेर कुनामा थन्काएर राखेका थियों, तर अहिले हाम्रो लागि ती अमूल्य धन सावित भएका छन् ।” सिडि र म्यूजिक सिस्टममा डिजे बजाउने प्रबृत्तिले निरुत्साहीत हुँदै परम्परागत मादलमा नाच्ने गाउने र पाहुनालाई मनोरञ्जन दिने गर्दा संस्कृति पनि जोगिएको उहाँको भनाइ छ ।

पूर्व–पश्चिम राजमार्गदेखि सय मिटर दक्षिणमा रहेको थारुको होमस्टे नजिकै वनस्पति उद्यान, वनभोज स्टल र बाँके राष्ट्रिय निकुञ्जको हात्तिसार पनि छ । आफूकहाँ आउने पाहुनालाई आफ्नै उत्पादनले सेवा गर्नेगरेको उहाँले बताउनुभयो ।

होमस्टेमा पाहुना आउँदा उहाँकी श्रीमती, छोरी र छोराले पनि काममा सघाउने गरेको थारुले बताउनुभयो । ‘परम्परागत खेती गर्दा जङ्गली जनावरले बाली खाएर नष्ट गरिदिन्थे वर्षभरि खान पनि पुग्दैनथ्यो थारुले भन्नुभयो । अहिले होमस्टे सञ्चालनमा आएपछि छोराछोरी पढाउनेदेखि अन्य गर्जो टार्न सहज भएको उहाँले बताउनुभयो ।

बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्तीक्षेत्र आसपासका गाउँमा मानव वन्यजन्तुबीचको द्वन्द्व घटाउँदै उनीहरुलाई संरक्षणमा सहभागी गराउने उद्देश्यले होमस्टेको अवधारणा ल्याइएको बताइन्छ । त्यसको प्रवर्धनमा आफूहरुले पनि सक्दो सहयोग गरेको तराई भूपरिधि कार्यक्रम परियोजना (ताल) का सहप्रबन्धक मुना थापाले बताउनुभयो ।

बर्दियाको डल्लाबाट सुरु भएको होमस्टे अहिले गोविन्दपुर, सतखलुवा, बाँकेको गाभर, ढकेरी नयाँगाउँ लगायतका स्थानमा सञ्चालनमा छन् । यसले आन्तरिक तथा बाह्य पर्यटनलाई बढावा दिँदै आयआर्जनमा समेत टेवा पुगेको स्थानीयको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?