logo
२०८१ बैशाख २९ शनिवार



पैतीस वर्षपछि सहजपुर–बोगटान सडकको ट्रयाक जोडियो

खुला |
प्रदेश |


पैतीस वर्षपछि सहजपुर–बोगटान सडकको ट्रयाक जोडियो


डिलबहादुर सिंह
चवाराचौतारा (डोटी) असोज १५ गते । २०४३ सालदेखि निर्माणकार्य सुरु भएको सहजपुर बोगटान सडक निर्माण सुरु गरिएको पैतीस वर्षपछि ट्रयाक जोड्ने काम भएको छ । कैलालीको सहजुरदेखि डोटीको बोगटान फुड्सिल गाउँपालिका– १ सिमचौरसम्मको ८४ किलोमिटर सडक सञ्चालनमा आएको छ ।

सडक सञ्चालनमा आएसँगै डोटीको दक्षिणी क्षेत्रमा पर्ने बोगटान फुड्सिल र बडिकेदार गाउँपालिकाका स्थानीयलाई यातायातमा सहज भएको छ । डोटीको बडीकेदार गाउँपालिका –५ लानाकेदारेश्वर र बोगटान फुड्सिल गाउँपालिका –१ सिमचौरबीचमा बाँकी रहेको करिब ५ किलोमिटर सडकको निर्माणकार्य सम्पन्न भएसँगै सडक जोडिएको हो ।

सुदुरपश्चिम प्रदेश सरकारले प्रदेश गौरवको योजनामा राखेर निर्माण कार्य अगाडि बढाएसँगै सडक जोडिएको छ । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट, भौतिक पुर्वाधार राज्यमन्त्री चुनकुमारी चौधरी लगायतद्वारा सडकको अनुगमन कार्य सम्पन्न भएको छ । सडक अनुगमनका क्रममा मुख्यमन्त्री भट्टले निर्वाचनको समयमा स्थानीयसँग गरेको बाचाअनुसार आफूले सहजपुर बोगटान सडकलाई प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो ।

मुख्यमन्त्री भट्टले भन्नुभयो, “यस क्षेत्रका जनताका लागि यो सडक अति आबश्यक भएपनि निर्माणले पूर्णता पाउन सकेको थिएन, प्रदेश गौरवको योजना अन्तर्गत हामीले कार्य अगाडि बढाएसँगै काम सम्पन्न भएको छ ।”

२०३८ सालमा भएको ‘राष्ट्रिय ‘पञ्चायत’ निर्वाचनदेखि यो सडकको विषयले चर्चा पाउन थालेको थियो । कैलालीको सहजपुरदेखि डोटीको अत्तरकाँडासम्म ४६ किलोमिटर सडक कालोपत्रेको काम भइरहेको छ । अत्तरकाँडादेखि सिमचौरसम्मको ३८ किलोमिटर सडक सञ्चालनमा आएको छ ।

डोटीको दक्षिणी क्षेत्र जोड्ने सबैभन्दा ठूलो सडक सहजपुर–बोगटान सडकले पूर्णता पाएपछि बोगटानमा खुसी छाएको छ । सडक कैलालीको सहजपुरदेखि डोटीको बिनिनगर, अत्तरकाँडा, सिमचौर,चवराचौतारा, गगुुडा, तिखात्तर, बासुदेबी, वायल, रानागाउँ हुँदै राजपुर जोडिएको छ ।

बोगटान सडक निर्माण कार्यक्रम अन्तरगत डबल कटिङ, पर्खाल निर्माण, नाली निर्माणको काम भइरहेको पुर्वाधार कार्यालय डडेल्धुराका कार्यालय प्रमुख रामचन्द्र खत्रीले बताउनुभयो । खत्री भन्नुभयो “यो ट्रयक पहिले नै जोडिन्थ्यो रक (बलियो चट्टान) लागेपछि ढिला भयो ।’ सुदूरपश्चिम प्रदेश सरकारको ३ करोड ८३ लाख रुपियाँको लागतमा ट्रयाक जोड्ने कार्य सम्पन्न भएको हो ।

यसरी शुरु भयो
२०१५ सालपछि धनगढीबाट दिपायलका लागि सडक निर्माणकार्य सुरु भयो । ‘धनगढी–दिपायल (डिडी) सडकको नामले काटिन सुरु भएको सडक पञ्चायतकालमा तत्कालीन डडेलधुराका नेताहरूको पहुँचका आधारमा ‘धनगढी–डडेलधुरा–दिपायल (डिडीडी) सडक नामाकरण गरेर निर्माण कार्य सुरु गरियो । सडकले बोगटान क्षेत्र जोड्न सकेन र डडेल्धुरा भएर दिपायलमा सडक पुग्यो ।

२०४३ सालमा कैलालीका पहाडी क्षेत्रका सहजपुर र निङालीसहित डोटीका साबिकका १० गाविस जोडेर दिपायल पुग्नेगरी सडकको निर्माण कार्य सुरु भयो । तत्कालीन जिल्ला विकास समिति डोटीका सभापति हालका नेपाली काँग्रेसका तर्फबाट प्रदेशसभा सदस्य भरतबहादुर खड्काले सडकको शिलान्यास गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?