logo
२०८१ बैशाख १८ मंगलवार



प्रहरी अनुसन्धान भन्छ–सुसाइड नोट लेखेर सीता भण्डारीले गरिन् आत्महत्या

खुला |


प्रहरी अनुसन्धान भन्छ–सुसाइड नोट लेखेर सीता भण्डारीले गरिन् आत्महत्या



लक्ष्मण पौडेल
भैरहवा, असोज १६ गते । रुपन्देही तिलोत्तमा नगरपालिका–५ की २७ वर्षीया सीता भण्डारी पौडेलले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले दावी गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उनको मृत्यु प्रकरणबारे हालसम्म भएका अनुसन्धानबारे जानकारी दिंदै आत्महत्या गरेको दावी गरेको हो ।
पौडेल भदौ २० गते बिहान साढे ४ बजे आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको थियो । उहाँको हत्या भएको भन्दै माइती पक्ष, आफन्त तथा स्थानीयले रुपन्देहीमा आन्दोलन गर्दै आएका छन् ।
सीताको मृत्यु प्रकरणलाई लिएर आन्दोलन सुरू भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र इलाका प्रहरी कार्यालय बुटवलले घटनाबारे संयुक्त रुपमा अनुसन्धान थालेका थिए । अनुसन्धान अनुसार पौडेलको मृत्यु कर्तव्यबाट नभई झुण्डिएर मृत्यु भएको देखिएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले बताउनुभयो ।
अनुसन्धानका क्रममा मृतक सीता र उनका श्रीमान् टीका पौडेलको मोबाइलको प्राविधिक परीक्षणसमेत गरिएको थियो । डिजिटल फरेन्सिक ल्याबमा मोबाइल परीक्षण गर्दा सीताले आफ्ना श्रीमान्को नाममा आइफोनको नोट एप्लिकेसनमा “सुसाइड नोट” लेखेको भेटिएको थापाले बताउनुभयो ।
अनुसन्धान अनुसार आत्महत्या गर्नुअघि २० गते नै विहान राति पौडेलले श्रीमान्लाई करिब साढे १२ बजे सुसाइड नोट लेखेको पाइएको छ । फरेन्सिक रिपोर्टमा सीताले नेपालीमा लेखेको सुसाइड नोट प्राप्त भएको थापाले बताउनुभयो ।
‘सुसाइड नोटमा मलाई माफ गरिदिनुहोला, मेरो अर्को जुनी भयो भने म हजुरहरूकै काखबाट जन्मिन चाहन्छु, मलाई यो जिन्दगीबाट पुग्यो, म बाँच्न सकिनँ भनी लेखिएको छ” थापाले भन्नुभयो ।
मोबाइलको फरेन्सिक परीक्षण हुँदा सुसाइड नोट र त्यसअघि पौडेलले श्रीमान्लाई लेखेको एसएमएसहरूको परीक्षण गरिएको थापाले बताउनुभयो । “यसरी परीक्षण गर्दा उहाँले आत्महत्याअघि लेखेको सुसाइड नोट र त्यसअघि श्रीमानलाई लेखेको एसएमएसको प्यार्टनसमेत मिलेको देखिन्छ”–उहाँले भन्नुभयो । अनुसन्धानको क्रममा मृतक तथा निजको श्रीमान टिका पौडेलको टाइमलाइन विश्लेषण गरिएको, घटनास्थल नजिक प्राप्त सीसीटीभी फुटेजको विश्लेषण गरिएको उल्लेख छ । त्यसैगरी मृतक सिता भण्डारी पौडेलको मोबाईलको सेवा प्रदायक निकायसँग एसएमएस माग गरी निजको श्रीमान् टीका पौडेलसँग भएको एसएमएस विवरण विश्लेषण गरिएको उल्लेख छ ।
भदौ २२ गते सीताका बुवा हरिप्रसाद भण्डारीले श्रीमान् टीका पौडेल, जेठाजु हरिप्रसाद पौडेल र उहाँकी आमाजु विष्णु पौडेलविरूद्ध आत्महत्या दुरुत्साहन मुद्दामा जाहेरी दिनुभएको थियो । जाहेरी आएपछि प्रहरीले श्रीमान् टिका, जेठाजु हरिप्रसाद र आमाजु विष्णुलाई पक्राउ गरिसकेको छ । उनीहरूविरूद्ध आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान भइरहेको थापाले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?