लीला झापाली
बिर्तामोड, असोज १६ गते । चाडपर्वको समयमा कनकाई नदीको वहावमा बगाएर काठ चोरी गर्ने समूह सक्रिय भएको छ । कनकाई नगरपालिका र शिवसताक्षी नगरपालिकाको सीमामा पर्ने सो नदीको वहावमा दक्षिणी इलामका युवा समुहले टयुव र बाँसको चाली बनाएर साखु काठ चोरी तस्करी बढाएपछि वन रक्षकले गस्ती बढाएका छन् ।
कनकाई माई नदिको पश्चिम क्षेत्रको दोमुखा क्षेत्रमा रहेको गैडे सामुदायिक वन समुहमा लामो समयदेखि उपभोक्ता समुह समितिविहिन बनेका कारण काठ चोरी बढेको स्थानीयको भनाई छ । युवा समुहले हाल दैनिक रुपमा सो नदीबाट काठ बगाउँदै झापाको कनकाई, झापा गाउँपालिका, बिर्तामोडका साना ठूला काठ मिल र फर्निचरदेखि भारतीय बजारसम्म तस्करी गर्दैआको स्थानीयको भनाई छ ।
सामुदायिक वनबाट इलामको दक्षिणी सीमा भएर नदीमा बगाएको काठ वनको गस्ति टोलीले बरामद गरेको छ । पूर्व–पश्चिम राजमार्गको झापास्थित कन्काई पुलको करिव दुइसय मिटर उत्तरबाट चाली बनाएर बगाउँदै ल्याइएका करिव साढे २६ क्युविक फिट सखुवाको काठ बरामद भएको गस्ती टोलीले बताएको छ ।
चुलाचुली सवडिभिजन वन कार्यालयका जमदार गणेश नेपालको नेतृत्वमा रहेको गस्ती टोलीले काठ बरामद गरेको हो । काठ बरामद गर्न खोज्दा तस्करीमा संलग्न युवाहरुले खोला पारी र वारीबाट ढुंगा हानेर तर्साउन र आक्रमणको प्रयास गरेको नेपालले बताउनुभयो ।
सो क्रममा गस्ति टोलीले दुई राउण्ड हवाई फायर गरेको जमदार नेपालले जानकारी दिनुभयो । राति नौ बजे खोलाबाट काठ आएको सूचना पाएपछि त्यहाँ नेपालको नेतृत्वमा वन रक्षक टोली त्यहाँ पुगेको उहाँले बताउनुभयो ।
सोही राती थप २९ कयुविक फिट काठ पनि बरामद भएको उहाँले बताउनुभयो । वन समूहका पदाधिकारी नै तस्करी काममा संलग्न भएको सूचना पाइएकाले खोजीकार्य जारी रहेको डिभिजन वन कार्यालय इलामले जनाएको छ ।