logo
२०८१ बैशाख ३० आईतवार



अछामको सिनेभावरमा पहिरोले सडक अवरुद्ध हुँदा यात्रु अलपत्र

खुला |
प्रदेश |


अछामको सिनेभावरमा पहिरोले सडक अवरुद्ध हुँदा यात्रु अलपत्र


शिवराज ढुंगाना
अछाम, असोज १६ गते । चौरपाटी गाउँपालिकाको चौखुट्टे र मार्कुबीचमा रहेको सिनेभावर भन्ने स्थानमा पहिरो गएपछि शुक्रबार दिउँसोबाट सडक बन्द भएको छ । पहिरोका कारण डोटी–अछाम र बाजुरा जोड्ने सडक बन्द हुँदा अछाम, बाजुरा आउने र बाहिरी जिल्ला जाने यात्रुबाहक र मालबाहक सवारी साधन ठप्प भएका छन् ।

सिनेभावरमा माथिको डाँडाबाट शुक्रबार दिउँसोबाट पहिरो निरन्तर खसेपछि सडक अवरुद्ध भएको चौरपाटी गाउँपालिका– ६ दुनीका वडा अध्यक्ष मने साउँदले बताउनुभयो । “पहिरोको वल्तिर र पल्तिर बस गाडीको निकै लामो लाइन छ, कतिखेर खुल्ने हो थाहा छैन” उहाँले भन्नुभयो ।

दिउँसो अछाम र बाजुराका विभिन्न स्थानका लागि आउने र यी दुई जिल्लाबाट बाहिरी जिल्ला जाने सवारी साधन पहिरोका वरपर सडकमा रोकिएको स्थानीय टंक भण्डारीले बताउनुयभो । डाँडाबाट पहिरो निरन्तर आइरहेकोले सडक सुचारु गर्नमा असहज भइरहेको चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउँदको भनाई छ ।

“चौरपाटी, सडक विभाग कार्यालय मिलेर सडक पुनः सञ्चालनका लागि प्रयास गरिरहेका छौ, माथिबाट पूरै डाँडा खस्लाजस्तो छ” अध्यक्ष साउँदले भन्नुभयो । सडक विभाग अछाम कार्यालयको एक डोजर, प्रहरी र केही स्थानीयमार्फत सडक खुलाउने काम भइरहेको उहाँले बताउनुभयो । यसअघि पनि सोही स्थानमा पहिरोकाकारण सडक अवरुद्ध भएको थियो । सडक चौडा गर्नेक्रममा पहिरो लाग्न थालेपछि सडक अवरुद्ध हुन थालेको स्थानीयको भनाइै छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?