logo
२०८१ जेष्ठ ४ शुक्रवार



धनुषाका विभिन्न स्थानमा पच्चीस हजार नीमका बिरुवा रोपियो

खुला |
प्रदेश |


धनुषाका विभिन्न स्थानमा पच्चीस हजार नीमका बिरुवा रोपियो


विजयकुमार साह
ढल्केवर, असोज १७ गते । धनुषामा २५ हजार नीमको बिरुवा रोपिएको छ । बहुउपयोगी वनस्पति निमको वृक्षरोपण गर्ने अभियान अन्तर्गत जिल्लाको विभिन्न स्थानमा नीमको बिरुवा रोपिएको हो ।

प्रदेश २ को वन प्राविधिक समाजका महासचिव तथा पर्यावरण अभियानकर्ता सुरेश शर्मा र मिथिला वाइल्ड लाइफ ट्रस्ट धनुषाका अध्यक्ष देवनारायण मण्डलले निमको वृक्षरोपण अभियान सञ्चालन गर्नुभएको हो । अभियानकर्ताहरुले निमको रुखमा भएका गुणबारे प्रचार प्रसार गरी यसको उपयोग बढाउने काम समेत गर्दै आउनुभएको छ ।

वन प्राविधिक समाजका महासचिव तथा पर्यावरण अभियानकर्ता शर्माले पर्यावरण सँगसँगै औषधीय गुणले भरिपूर्ण मानिएको नीमको २५ हजारभन्दा बढी बिरुवा रोपिएको बताउनुभयो । उहाँले जिल्लाको ढल्केवर–जनकपुर सडक खण्डको पेटी, सामुदायिक वनहरु, निजी वन, र खुला मैदानमा गरी ६ महिनाको अवधिमा बिरुवाहरु रोपिएको जानकारी दिनुभयो ।

पहिला–पहिला घर अगाडि तथा बाटोमा नीमको रुखहरु प्रशस्त पाइन्थ्यो । तर केही समय यता नीमको रुख तराइको भूमिबाट मासिँदै गएको छ भन्नुहुँदै शर्माले थप्नुभयो, ‘सोही रुखको परिपूर्ति गर्न यो अभियान सञ्चालन गरेका छौ ।’ उहाँले निमका बिरुवा डिभिजन वन कार्यालय धनुषाले उपलब्ध गराएको बताउनुभयो ।

मिथिला वाइल्ड लाइफ ट्रस्ट धनुषाका अध्यक्ष देवनारायण मण्डलले पर्यावरण जोगाउन गरिएको वृक्षरोपण र संरक्षण कार्यमा सबैको सहभागिता आवश्वयक भएको बताउनुभयो । उहाँले नीमको रुख सौन्दर्य र स्वास्थ्यका लागि वरदानजस्तै भएको बताउनुभयो ।

घरमा रहेको नीमको पातलाई र रुखलाई वास्ता नगर्ने तर त्यही नीमको मञ्जन, साबुन र सौन्दर्य क्रिम बनेपछि सयौ गुना मूल्य बढी तिरेर सर्वसाधारणले प्रयोग गर्नेगरेको अध्यक्ष मण्डलले बताउनुभयो । गाउँघरमा नीमको डाँठलाई ब्रसकोरुपमा दाँत सफा गर्ने काममा पनि प्रयोग गर्नेगरेको उहाँले बताउनुभयो ।

अभियानअन्तर्गत वृक्षरोपण गरिएको भए पनि हुर्काउने जिम्मा डिभिजन वन कार्यालय धनुषालाई दिइएको छ । वन कार्यालयले रोपिएका नीमको वृक्ष संरक्षणका लागि स्थानीय साधन स्रोतलाई प्राथमिकता दिई वातावरणमैत्री बाँसबाट बनाइएको खोप (ट्र गार्ड) को प्रयोग गरेर हुर्काउने काम गरिरहेको डिभिजन वन कार्यालय धनुषाका अधिकृत सुनिलकुमार कर्णले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?