logo
२०८१ बैशाख ३१ सोमवार



डेढ वर्षपछि कैलालीको गौरीफन्टा सीमानाका खुला

खुला |
प्रदेश |


डेढ वर्षपछि कैलालीको गौरीफन्टा सीमानाका खुला


अविनाश चौधरी
धनगढी, असोज १७ गते । कोरोना महामारी सुरु भएपछि बन्द गरिएको भारतीय सीमानाका गौरीफन्टा नाका डेढ वर्षपछि पूर्ण रुपमा आजदेखि खुल्ला भएको छ ।

नेपालले भारतीय नागरिकलाई निजी सवारी साधनसहित प्रवेश अनुमति दिएपछि गौरीफन्टा नाका पूर्ण रुपमा खुल्ला भएको हो । यसअघि, भारतबाट सामान बोकेका सवारीसाधन आएपनि भारतीय नागरिकले आफ्नो सवारी साधनसहित प्रवेश पाएका थिएनन् ।

स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर भारतीय नागरिक निजी सवारी साधनसहित आउन पाउने जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । ‘सङ्घीय सरकारको निर्णयपछि भारतीय नागरिकको आवागमन हुनेगरी नाका खुलेको हो’, उहाँले भन्नुभयो ।

भारतीय नागरिकलाई नेपाल प्रवेश गर्न भने निश्चित मापदण्ड तोकिएको छ । उनीहरुले ७२ घण्टा भित्र आरटी पीसीआरबाट परीक्षण गराएको कोरोना नेगेटिभको रिपोर्ट लिएर आउनुपर्ने प्रशासनले जनाएको छ । यसैगरी, अनलाइनमार्फत सीसीएमसीको वेभसाइडमा फाराम भरेर त्यसको एकप्रति लिएर आउनु पर्ने जोशीले जानकारी दिनुभयो ।

यसअघिसम्म भारतीय नागरिक नेपाल प्रवेश नपाए पनि यो नाकाबाट नेपालीलाई भने आउन, जान दिइएको थियो । तर, अत्यावश्यक सवारी साधनबाहेक नेपाली नम्बरप्लेटका सवारी साधनलाई अझै पनि भारत प्रवेश गर्न दिइएको छैन ।

गौरीफन्टा नाका खुलेपछि पर्यटन व्यवसायलाई राहत हुने अपेक्षा गरिएको छ । ‘कोरोना महामारीका कारण पर्यटन व्यवसाय नराम्ररी थला परेको छ’, होटल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बमले भन्नुभयो । ‘नाका पूर्ण रुपमा खुल्नु हाम्रो लागि खुशीको कुरा हो । भारतीय पर्यटक आएपछि हामी व्यवसायीलाई केही राहत पुग्नेछ ।’

कोरोना महामारी सुरु भएपछि कैयौं होटल व्यवसायी पलायन हुने अवस्थामा पुगेको उल्लेख गर्दै उहाँले पर्यटक आएमा थोरै भएपनि धनगढीका व्यवसायीलाई राहत महसुस हुने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?