logo
२०८१ बैशाख २३ आईतवार



बाँकेको पर्यटन सूचना केन्द्र सञ्चालनमा आएन

खुला |
प्रदेश |


बाँकेको पर्यटन सूचना केन्द्र सञ्चालनमा आएन


सिराज खान
नेपालगञ्ज, असोज १८ गते । भारतलगायत तेस्रो देशबाट आउने पर्यटकलाई सूचना दिने उद्देश्यले यहाँस्थित नेपाल–भारत नाकाको जमुनाहामा पर्यटन सूचना केन्द्र स्थापना गरिएको एक वर्ष बिते पनि सञ्चालनमा आएको छैन ।

पश्चिम नेपालकै प्रमुख नाकाको रुपमा रहेको जमुनाहा नाका भएर नेपाल भित्रिने पर्यटकलाई लक्षित गरेर गतवर्ष पर्यटन सूचना केन्द्रको भवन निर्माण गरेर स्थापना गरिएको थियो । तर, सो केन्द्र अझै पनि सञ्चालनमा आएको छैन ।

लुम्बिनी प्रदेश सरकारको बजेटमार्फत नाकामा सूचना केन्द्रको दुई कोठे भवन निर्माण कार्य सम्पन्न भए पनि कर्मचारी नपठाउँदा हालसम्म सो केन्द्र सञ्चालनमा नआएको बताइएको छ ।

नाकामा सूचना केन्द्र स्थापना भएपनि प्रयोगमा आउन नसकेको पर्यटन डिभिजन कार्यालय बाँकेका प्रमुख माधव ज्ञवालीले बताउनुभयो । ‘पर्यटन सूचना केन्द्र भवन निर्माण भएको धेरै भइसक्यो, तर अहिलेसम्म भवन कस्ले प्रयोग गर्ने भन्नेबारे टुङ्गो लाग्न सकेको छैन,’ उहाँले भन्नुभयो ।

प्रमुख ज्ञवालीले पर्यटन सूचना केन्द्र पर्यटन डिभिजन कार्यालय वा पर्यटन बोर्डमध्ये कस्लाई प्रयोग गर्न दिने भन्नेमै टुङ्गो लाग्न नसकेको बताउनुभयो । पर्यटन सूचना केन्द्र सञ्चालनका लागि आवश्यक पर्ने बजेट र कर्मचारीको ब्यवस्थापन हुन नसकेको उहाँको भनाई छ ।

पर्यटन प्रर्वद्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले एक वर्ष पहिले स्थापना भएको सूचना केन्द्र हालसम्म सञ्चालनमा नआउँदा भारतबाट आउने पर्यटकले सेवा पाउन नसकेको बताउनुभयो । ‘यो नाकाबाट आउने पर्यटकलाई यस क्षेत्रका पर्यटकीय गतिविधि जान्न, बुझ्न सहज होस् भनेर नै स्थापना गरिएको थियो, तर कर्मचारीको व्यवस्था भइसकेको छैन,’ उहाँले भन्नुभयो ।

भारतबाट आउने पर्यटकका लागि नेपालका पर्यटकीय स्थलका बारेमा उक्त सूचना केन्द्रले डिस्प्लेसहित जानकारी गराउने मन्त्रालयको अवधारणा छ । ‘प्रदेश सरकारको यो एकदमै राम्रो अवधारणा हो, सूचना केन्द्रका लागि भवन त बन्यो, तर केन्द्रले कर्मचारी र बजेट नपाउँदा प्रयोगविहिन बन्न पुग्यो,’ बाँकेका पर्यटन ब्यवसायी केशव न्यौपानेले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?