logo
२०८१ जेष्ठ ७ सोमवार



बाजुराको खाद्य डिपोमा चामल पुग्यो, सहुलियतमा बिक्री गरिने

खुला |
प्रदेश |


बाजुराको खाद्य डिपोमा चामल पुग्यो, सहुलियतमा बिक्री गरिने


शेरबहादुर सार्की
बाजुरा, असोज १८ गते । दुई महिनासम्म चामलको चरम अभाव भएको बाजुराका दुई डिपोमा सात सय क्वीन्टल चामल आइपुगेको छ । वर्षात्का कारण बाजुराका सडक अवरुद्ध भएपछि दुई महिनाअघि बाजुराका दुई खाद्यान्न डिपोमा चामल सकिएको थियो ।

पाँच महिनादेखि अवरुद्ध साँफे मार्तडी सडकलाई सुचारु गर्न जिल्ला प्रशासन कार्यालय बाजुराले पहल गर्दै आएएको थियो । सडक डिभिजन साँफे अछामले असोज १५ गतेबाट सडक मर्मत गरे पश्चात् डिपोमा चामल पुगेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय बाजुराले जनाएको छ ।

बाजुराको पूर्वी–उत्तर क्षेत्रमा रहेको कोल्टी चारसय र मार्तडीमा तीनसय गरी सातसय क्वीन्टल चामल बाजुराको डिपोमा आइपुगेको जिल्ला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमेटेड बाजुराका प्रमुख मेखराज ओझाले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले कोल्टी र मार्तडी डिपोका लागि एक–एक हजार क्वीन्टल चामल मगाएको भए पनि कोल्टीमा चारसय र मार्तडीमा तीनसय क्वीन्टल मात्र चामल आएको छ ।”

मार्तडीका लागि साँफे–मार्तडी सडक सुचारु भएपछि र कोल्टी डिपोमा कर्णाली करिडोर सडक सुचारु भएपछि बाजुराका दुबै डिपोमा चामल आइपुगेको प्रमुख ओझाले बताउनुभयो । प्रमुख ओझाकाअनुसार मार्तडी खाद्यमा यसअघि पैँचालिस रुपियाँमा बिक्री हुँदैआएको मोटो चामल भोलीबाट चालीस रुपियाँ र एक किलो चामल ४८ रुपियाँमा बिक्री गर्दैआएको कोल्टी डिपोले भोलीबाट ४३ रुपियाँ बिक्री गर्ने बताएको छ ।

दुई महिनासम्म चामलको चरम अभाव झेल्दैआएका बाजुरावासीलाई प्रति किलो पाँच रुपियाँ छुट गरेर सहुलियतमा डिपोले मोटा चामल बिक्री गर्ने भन्दै उपभोक्तालाईं समयमै चामल लिन आग्रह गरिएको ओझाले बताउनुभयो ।

बाढपिहिरोका कारण साँफे मार्तडी लोकमार्ग लामो समयदेखि अवरुद्ध बन्दै आएपछि झण्डै दुई महिनासम्म डिपोमा खाद्यान्न थिएन । अहिले साँफे मार्तडी लोकमार्ग अन्तर्गत पर्ने बल्दे दवारी लगायतका ठाउँको सडक मर्मत भएपछि बाजुराको डिपोमा चामल आइपुगेको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकरी गोपालकुमार अधिकारीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?