logo
२०८१ जेष्ठ ७ सोमवार



डडेल्धुरामा महिला हिंसाका घटनामा वृद्धि

खुला |
प्रदेश |


डडेल्धुरामा महिला हिंसाका घटनामा वृद्धि


राजेन्द्र ठगुन्ना
अमरगढी, असोज १८ गते । डडेल्धुरामा महिलामाथि हुने विभिन्न घरेलु हिंसा तथा जबरजस्ती करणीका घटनामा बृद्धि देखिएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराकाअनुसार घटनामा यस वर्ष पहिलेभन्दा तुलनात्मक बृद्धि देखिएको हो ।

आर्थिक वर्ष २०७५–७६ मा जबरजस्ती करणी ६ वटा जबरजस्ती करणी उद्योगमा १ वटा, २०७६–७७ मा ९ वटा जबरजस्ती करणीमा ३ वटा मुद्दा दर्ता भएको थियो । आर्थिक वर्ष २०७७–७८ मा त्यो संख्या बढेर जबरजस्ती करणीमा १५ वटा र जबरजस्ती करणी उद्योगमा ७ र एउटा बालयौन दुरुपयोगमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले बताउनुभयो ।

चालु आर्थिक वर्षमा ३ वटा जबरजस्ती करणी, २ वटा जबरजस्ती करणी उद्योग र एउटा बालयौन दुरुपयोग भएको रेकर्ड जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा रहेको कार्यालयले जनाएको छ । घरेलु महिला हिंसातर्फ आर्थिक वर्ष २०७५–७६ मा ८८ वटा, २०७६–७७ मा ३० वटा, २०७७–७८ मा ५३ वटा र चालु आवमा १९ वटा घटना भएको प्रहरी निरीक्षक चन्दले बताउनुभयो ।

कानुनले जबरजस्ती करणी मुद्दाको हदम्याद एक वर्षसम्म बढाएको हुँदा करणीका घटनाहरुमा वृद्धि भएको हुनसक्ने प्रहरीको आँकलन छ । महिला मुक्ति समाज डडेल्धुराकी अध्यक्ष महिला अधिकारकर्मी अधिवक्ता आरती जोशीले लकडाउनको अवधीमा महिला हिंसाका घटनाहरु बढेको बताउनुभयो ।

मानिसहरु पहिलेभन्दा चेतनशील भएकाले न्याय खोज्न आउनेक्रम बढ्दै गएकाले जबरजस्ती करणीका घटनाहरुमा बृद्धि भएको देखिएको उहाँको भनाई छ । पहिले घटनाहरुलाई समाजमै मिलापत्र गराउने प्रयासले बाहिर कम मात्रामा आउँथ्यो अधिवक्ता जोशीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?