जयकृष्ण यादव
इनरुवा, असोज १८ गते । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका क्षेत्रको बजार अनुगमन गरिएको छ । सोमबार नगरपालिकाको उपप्रमुख जमुना गौतम पोख्रेलको नेतृत्वको अनुगमन टोलीले बजार अनुगमन गरेको हो । अनुगमनको क्रममा अधिकांश पसलमा भाउमा एकरुपता नभएको र म्याद गुज्रेको समान फेला परेको छ ।
चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई प्रभावकारी बनाउने क्रममा सोमबार सबै सरोकारबालाहरुको सहभागितामा सामूहिक बजार अनुगमन गरिएको हो । जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि, उधोग वार्णिज्य संघ, उपभोक्ता संरक्षण मञ्च, खाद्य तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधिहरुले एकसाथ बजार अनुगमन गर्नुभएको नगरपालिकाले जनाएको छ ।
अनुगमनका क्रममा व्यापारीहरुले मूल्यसुचि राखेको भएपनि पसलपिच्छे मूल्य फरक रहेको, म्याद सकिएको समान राखेको, क्रेतालाई विलविजक नदिएको लगायतका समस्या देखिएको अनुगमनमा सहभागीले बताउनुभयो । म्याद सकिएको समान जफत गरी अनुगमन टोलीले नष्ट गरेको छ भने मूल्यमा एकरुपता गर्न र विल विजक जारी गर्न निर्देशन दिएको छ ।
सरोकारवालाहरुले चाडपर्वमा बढी मात्रामा गुणस्तरहिन र म्याद सकिएको समान विक्रिको जोखिमलाई मध्यनजर गरी बजार अनुगमन गरेको र यसलाई थप व्यवस्थित र प्रभावकारी बजार अनुगमनलाई निरन्तरा दिने जनाएको छ ।
इनरुवामा गरिएको अनुगमन टोलीमा इनरुवा उपप्रमुख जमुना गौतम पोख्रेल, जिल्ला प्रहरी कार्यालयकी प्रहरी निरीक्षक मिनादेवी राई, उवासंघका सुरेन्द्र साह, उपभोक्ताका अजय देव र नारायाण निरौला सहित १३ सदस्य रहनुभएको थियो ।