logo
२०८१ जेष्ठ ३ बिहीवार



बेलहिया नाकामा नेपालीलाई एन्टिजेन र विदेशीलाई पिसिआर रिपोर्ट अनिवार्य

खुला |


बेलहिया नाकामा नेपालीलाई एन्टिजेन र विदेशीलाई पिसिआर रिपोर्ट अनिवार्य
सीमा नाका खुलेसँगै चहलपहल बढेको बेलहिया नाका । तस्विरः लक्ष्मण पौडेल


लक्ष्मण पौडेल
भैरहवा, असोज १९ गते । तीन दिनदेखि सीमा नाका खुलेपछि रुपन्देहीको बेलहिया नाका हुँदै दैनिक झण्डै चारसय नेपाली स्वदेश फर्किन थालेका छन् ।
विगत १८ महिनादेखि बन्द रहेको बेलहिया नाका गत आइतबारदेखि सुचारु भएसँगै सीमा क्षेत्रमा चहलपहल बाक्लिएको छ । कोभिड–१९ को कारण २०७६ चैत १० गतेदेखि नेपाल–भारत सीमा बन्द रहेको थियो । बीचमा सरकारले नाका सुचारु हुने सङ्केत गरे पनि कोभिड दोस्रो चरण देखिएपछि सुचारु हुनसकेको थिएन ।
इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक नवीन पौडेलले स्वास्थ्य मापदण्ड पालना गरेर मात्रै स्वदेश आउने नेपाली एवं विदेशी पर्यटकलाई प्रवेश अनुमति दिइएको बताउनुभयो । “अहिले दैनिक करिव चारसय जना नेपाल प्रवेश गरिरहेका छन्, हामीले उनीहरुलाई स्वास्थ्य मापदण्ड अपनाएर मात्रै गन्तव्यतर्फ जान दिएका छौं”–उहाँले भन्नुभयो ।
सीमा क्षेत्रबाट प्रवेश गर्ने नेपाली यात्रुको हकमा सामान्य ज्वरो नापेर शङ्कास्पद देखिए एन्टिजेन परीक्षणको व्यवस्था गरिएको छ । एन्टिजेन परीक्षणमा पोजेटिभ आए पिसिआर परीक्षण गरिने र पिसिआरको नतिजाको आधारमा यात्रुको व्यवस्थापन गरिने प्रहरी निरीक्षक पौडेलले बताउनुभयो ।
त्यस्तै, भारतीय पर्यटकले भने ७२ घण्टे पिसिआर रिपोर्ट देखाई जिल्लास्तरीय कोभिड नियन्त्रण विशेष समिति (सिसिएमसी) द्वारा निर्धारित फारम भरेर नेपाल प्रवेश गर्न पाउने उहाँको भनाइ छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी क्रृषिराम तिवारीका अनुसार भारतीयको हकमा पूर्ण खोप भने अनिवार्य छैन । यसैगरी तेस्रो मुलुकका पर्यटकको हकमा ७२ घण्टे पिसिआर रिपोर्टसहित कोभिड विरुद्धको पूर्ण खोप लगाएको कागजात पनि आवश्यक पर्ने प्रजिअ तिवारीले जानकारी दिनुभयो । भारतीय पर्यटक र यात्रुसहित निजी भारतीय सवारी नेपाल भित्रिन थालेपछि यहाँका पर्यटन ब्यवसायी तथा होटल व्यवसायी उत्साहित बनेका छन् ।
कोभिडको कारण लामो समयदेखि थला परेको पर्यटन ब्यवसाय नाकामा आवागमन सहज हुन थालेसँगै उकासिने उनीहरुको भनाइ छ ।
अहिले सीमा नाकाबाट विशेष गरी दशैं मनाउने नेपालीहरु प्रवेश गरिरहेका छन् । ती मध्ये गुल्मी, अर्घाखाँची, पाल्पा, स्याङ्जा, कास्कीलगायत पहाडी जिल्लाका युवा धेरै रहेको बेलहियाका प्रहरी प्रमुख पौडेलले बताउनुभयो । ठूलो सङ्ख्यामा स्वदेश फर्किन थालेपछि स्वास्थ्य जाँचमा पनि समस्या पर्ने गरेको उहाँको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?