logo
२०८१ जेष्ठ ८ मंगलवार



दशैं नजिकिएसँगै कालीगढलाई मूर्ति बनाउने चटारो

खुला |
प्रदेश |


दशैं नजिकिएसँगै कालीगढलाई मूर्ति बनाउने चटारो


नारद कोहार
तौलिहवा, असोज २१ गते । दशैका लागि दुर्गा भवानीको मूर्ति बनाउन जिल्लाका कालिगढहरुलाई यतिबेला भ्याई नभ्याई छ । बिजयादशमीमा जिल्लाका बिभिन्न स्थानमा निकालिने दुर्गा भगवतीसहित बिभिन्न देवी देवताको माटोका मुर्तिहरु बनाउन चटारो छ । एक महिना अघिदेखि मूर्ति बनाउन सुरु गर्नुभएका कालीगढहरु अहिले विभिन्न आकारका मूर्ति बनाउन लागिपर्नुभएको छ । मूर्ति निर्माण कार्य अन्तिम चरणमा पुगेकोले मूर्तिकारहरु सजावट तथा रंगरोगनमा व्यस्त हुनुहुन्छ ।

गत वर्षको तुलनामा यो बर्ष कोरोनाका कारण मूर्तिहरु कम मात्रामा अर्डर आएको कपिलवस्तु नगरपालिका १ का कालिगढ अनिल गुप्ताले बताउनुभयो । ‘दुई दर्जन सेट मूर्तिको अर्डर आएको छ, सयममा डेलिभरी दिन परेकोले अहिले फुर्सद छैन’, उहाँले भन्नुभयो । १५ हजारदेखि ४० हजार रूपियाँ बढीसम्मका मूर्तिहरुको अर्डर आएको गुप्ताले बताउनुभयो । दुई वर्षसम्म मूर्ति बेचेर राम्रो आम्दानी गरेका अनिलले कोरोनाका कारण मूर्तिको बिक्रीरेट समेत घटेको गुनासो गर्नुभयो ।

घाममा सुकाएर तयार भएका मूर्तिहरुमा रंग भर्ने काम भइरहेको कपिलवस्तु नगरपालिका ६ का कालिगढ धनिराम कुर्मीले बताउनुभयो । गत वर्षभन्दा १० सेट कम मूर्तिको अर्डर आएको भन्दै उहाँले केही मूर्ति घटस्थापना र केही सप्तमीअघि डेलिभरी दिनुपर्ने बताउनुभयो । कोरोनाले गर्दा मूर्तिको अर्डर र रेट घटेका कारण यस वर्ष पनि मर्का परेको उहाँको गुनासो छ । एक सेट मूर्तिको १० देखि ३० हजार रूपियाँ मात्र आउनेगरेको उहाँले जानकारी दिनुभयो ।

दुर्गा, बाघ, भैंसी, राक्षस, गणेश, लक्ष्मी, कार्तिकेलगायतका मूर्तिका अर्डर अनुसारका मूर्ति निर्माण भइरहेको उहाँको भनाई छ । यहाँका मूर्तिकारहरु मूर्ति बनाउन चाहिने औजार र सजावटका सामग्रीहरु भारतबाट ल्याउने गरेको कालीगढहरुले बताउनुभएको छ । जिल्लामा कतै घटस्थापना र कतै सप्तमीका दिनदेखि मूर्ति प्रदर्शन गर्ने चलन छ ।

विजयादशमीमा चारसय बढी ठाउँमा दुर्गा भवानीका मूर्ति निकालिदैआएको छ भने कालिगढहरु माग जतिको मुर्ति आपूर्ति गर्न नसक्दा कपिलबस्तुसहित भारतको विभिन्न स्थानबाट कालिगढहरु मूर्ति बनाउन नेपाल आएको उहाँहरुको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?