मनोज भट्टराई
ओखलढुंगा, असोज २१ गते । पछिल्लो समय बढ्दैगएको आधुनिकीकरणका कारण परम्परागत पेशा आरन लोप हुने क्रममा पुगेको छ । घरायसी काममा प्रयोग हुने हँसिया, कुटो, कोदालो, बञ्चरोलगायतका कृषि औजार निर्माण गर्ने आरन आधुनिक र व्यावसायिक बनाउन नसक्दा संकटमा पर्दैगएको हो ।
राम्रो आम्दानी नहुने भएपछि युवाहरूले आरन पेशा छाड्दै गएको स्थानीयको भनाइ छ । स्थानीय युवाहरू पम्परागत पेशाभन्दा वैदेशिक रोजगारीतर्फ लहसिन थालेपछि परम्परागत पेशा समस्यामा पर्दैगएको स्थानीयको बुझाई छ । दिनभर फलाम पिटेर विभिन्न सामग्री निर्माण गरेअनुसार ज्याला नपाउँदा परिवार पाल्नै मुस्किल पर्ने भएपछि युवाहरूले परम्परागत आरन पेशा छाड्दै गएको धेरैको बुझाई छ । ग्रामीण बस्तीहरूमा पुराना पाका मान्छे कोही भए आरन चल्ने नभएमा बन्द हुने गरेको छ ।
दिनरात काम गरे पनि उचित पारिश्रमिक पाइन्न, हातमा ठेला उठाएर काम गरे पनि कामअनुसारको पारिश्रमिक आउँदैन आरन चलाउँदै आउनुभएका सिद्धिचरण नगरपािलका ७ का मेखबहादुर बिश्वकर्माले बताउनुभयो । युवाहरुलाई तालिमका लागि सरकारबाट सहयोग भएमा आरन चलाउने बृद्धहरूलाई सहज हुने उहाँको भनाइ छ ।
नयाँ पुस्ताले पेशा छाड्दैगएका कारण आरन हराउँदै गएको छ । राज्यले अन्य पेशा व्यवसायीलाईजस्तै आरन पेशा गर्नेलाई पनि सहयोग र आवश्यक आर्थिक व्यवस्था मिलाई दिएमा पेशामा अडिरहने लिखु गाउँपालिका ७ का ४५ वर्षिय दुर्गा विश्वकर्माले बताउनुभयो ।
एक पाथी अन्नको भरमा वर्षभरि औजार मर्मत र निर्माण गर्नुपर्ने अवस्था अहिले पनि कायम रहेको उहाँको भनाई छ । समाजमा सिलाईको काम गर्नेप्रति व्यवहार र दृष्टिकोण परिवर्तन भएपनि आरन पेशामा भने परिवर्तन हुन नसकेको उहाँको बुझाइ छ । आरन पेशा व्यावसायिक बन्न नसक्नु, पेशालाई सम्मान हुने वातावरण नहुनु तथा सरकारले सहयोग नगर्नुजस्ता कारणले यो पेशा ओझेलमा परेको व्यवसायीहरुको भनाइ छ ।
“यो पेशामा रहेकोलाई आगो, धुवाँ, धुलो र फलामसँग रमाउनु सामान्य हुन्छ । यही आरनबाट उत्पादन भएको सामग्री बिक्री गरेर आम्दानी गर्नुपर्छ” मोलुङ गाउँपालिका २ का मकरबहादुर गजमेरले बताउनुभयो । कृषि औजार बिक्री गरेर मासिक २५ देखि ३५ हजार रुपियाँसम्म आम्दानी हुनेगरेको उहाँको भनाई छ । तर‚ उत्पादित सामग्रीको बजारको भने समस्या रहेको उहाँले बताउनुभयो ।
१३ वर्षको उमेरदेखि आरन पेशा अँगाल्नुभएका लिखु गाउँपालिका ८ का गणेश बिक ४६ वर्ष हुँदासम्म यही पेशामा सक्रिय रहेको बताउनुभयो । परम्परागत रुपमा गर्दैआएको पेशाबाट परिवार धान्न समस्या नभए पनि आधुनिकीकरण गर्न नसकेको उहाँको चिन्ता छ । “यो पेशामा आफ्नो भविष्य खोजी रहेका युवाहरुका लागि आधुनिक सामान र बजारीकरणमा स्थानीय सरकारले यथोचित ध्यान दिनुपर्छ” उहाँले भन्नुभयो ।