logo
२०८१ मंसिर ८ शनिवार



बजारमा किनमेल गर्नेको चहलपहल बढ्यो

खुला |
समाज |


बजारमा किनमेल गर्नेको चहलपहल बढ्यो
लमजुङ सदरमुकाम बेँसीसहर बजारका देखिएको भिडभाड । तस्बिरः बेलिना थापा, लमजुङ समाचारदाता



बेलिना थापा
लमजुङ, असोज २२ गते । दशैँ सुरु भएसँगै लमजुङका शहरबजारमा चहलपहल बढेको छ । दशैँका लागि सरसामान किनमेल गर्नेको भीड बढेको छ । दशैँ नजिकिँदै गर्दा प्रमुख व्यापारिक केन्द्रहरु बेँसीसहर, भोटेओडार, सुन्दरबजार, भोर्लेटारलगायतको क्षेत्रमा किनमेल गर्नेको चहलपहल बढेको हो । गाउँगाउँबाट सहरबजारमा सामग्री खरिदका लागि नागरिक झरेको लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज सिलवालले बताउनुभयो ।

उहाँका अनुसार कोरोना संक्रमण दर केही कम भएकाले टाढाटाढाका नागरिक पनि बजारसम्म आएर किनमेलमा व्यस्त रहेका छन् । दशैँ तिहारलाई लक्षित गरी व्यवसायीले विशेष छुटको व्यवस्था गरेकाले पनि अधिकांश पसलमा नागरिकको भीड हुने गरेको छ । साताको सबै दिन पसल खुलेकाले पनि गाउँबाट आउने नागरिकलाई सामग्री खरिदमा सहज भएको छ ।

दशैँ सुरु हुनुभन्दा एक महिना अघि नै बजारका पसलहरुमा मानिसको भिड थियो । अहिले झनै भिडभाड बढेको छ । बजारमा अहिले कपडा, मरमसला, चामल, चिउरा, नुन, तेललगायतको व्यापार बढेको व्यापारीले बताएका छन् । कोरोना सङ्क्रमणका कारण सुस्ताएको व्यवसाय दशैँ आएपछि बढेको छ ।
दशैँमा चहलपहल बढ्दा व्यवसायी खुसी भएका छन् । लामो समयसम्म व्यवसाय अघि बढाउन समस्या भएकाहरुलाई गाउँगाउँबाट झर्ने मानिसको भीडले थप उत्साह थपेको छ ।

लमजुङको सदरमुकाम बेँसीसहर बजारमा दैनिक मानिसको भिडभाड बढेको छ । सामान ढुवानीका लागि सवारी साधन पनि धेरै मात्रामा आउजाउ गरेका छन् । बजारमा मानिसको भिडभाड र सवारी जाममा पर्दा आवतजावतमा समस्या भएको स्थानीयले बताएका छन् । एक मानिसले अर्को मानिसलाई ठेलेरै हिँड्नुपर्ने बाध्यता रहेको बताएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?