logo
२०८१ जेष्ठ ३ बिहीवार



लुम्बिनी प्रदेशलाई आत्मनिर्भर बनाउँछौंः मुख्यमन्त्री केसी

खुला |
प्रदेश |


लुम्बिनी प्रदेशलाई आत्मनिर्भर बनाउँछौंः मुख्यमन्त्री केसी


लक्ष्मण पौडेल
भैरहवा, असोज २२ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेश आत्मनिर्भर हुन सम्भव रहेको बताउनुभएको छ । यो प्रदेश समृद्ध बन्ने सबैभन्दा अनुकुल भुभागमा रहेकाले प्रदेशलाई आत्मनिर्भर बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

लुम्बिनी प्रेस क्लब भुवनकुमारी स्मृति पर्यटन पत्रकारिता पुरस्कार–२०७७ वितरण समारोहलाई शुक्रबार भैरहवामा सम्बोधन गर्दै मुख्यमन्त्री केसीले सो कुरा बताउनुभयो । “समृद्ध लुम्बिनीको सपना सबैको साझा सपना बनोस्, आत्मनिर्भर बन्ने बाटोमा लाग्नुपर्छ, परनिर्भरताबाट मुक्त हुनुपर्छ” उहाँले भन्नुभयो ।

वन रक्षकको लागि १२३ जनाको माग हुँदा ६३ हजार जनाले आवेदन दिएको भन्दै उहाँले मुलुकमा बेरोजगारी बढेको बताउनुभयो । “अस्थायी रुपमा १२३ जनालाई त सम्बोधन गर्न सक्यौं, बाँकीलाई कसरी सम्बोधन गर्ने ?” जिज्ञासा गर्नुभयो । कोभिड–१९ ले पर्यटन क्षेत्र प्रभावित भएकाले तीनै तहका सरकारले आफ्नो बजेट राहतपूर्ण कार्यक्रममा केन्द्रित गरेको उहाँले जानकारी दिनुभयो ।

सबै क्षेत्र खुल्ला गर्दा महामारीको अर्को प्रकोप आउन सक्ने जोखिम पनि रहेकाले चाडपर्व मनाउन नेपाल फर्केका नेपालीलाई मापदण्ड पूरा गरेर सहज रुपमा आउन दिने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो । “गौतमबुद्धको भूमिमा आउनेबेला मान्छे परेसान हुने गुनासो नआओस्” उहाँले भन्नुभयो । लुम्बिनी अन्तर्राष्ट्रिस्तरमै आकर्षणको केन्द्र बनेको मुख्यमन्त्री केसीले भन्नुभयो ।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले मिडिया सञ्चालन गर्नु अत्यन्तै चुनौतीपूर्ण अवस्था रहेको बताउनुभयो । उहाँले सञ्चारमाध्यमका लागि नगरपालिकाले बजेट छुट्टयाएको पनि जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले मिडिया क्षेत्रका लागि सरकारले राहत उपलब्ध गराउन नसकेको बताउनुभयो । कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, भुवनकुमारी स्मृति पर्यटन पत्रकारिता पुरस्कारका संस्थापक नारायणप्रसाद सापकोटा, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा, सिद्धार्थ होटल एशोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, भैरहवा मर्निङवाक गु्रपका अध्यक्ष विजय गोविन्द श्रेष्ठ, लुम्बिनी प्रेस क्लबका महासचिव कमल रायमाझी, क्लबका सदस्य शशि पन्थी लगायतले धारणा राख्नुभयो ।

कार्यक्रममा क्लबका महासचिव कमल रायमाझीलाई लुम्बिनी प्रेस क्लब भुवनकुमारी स्मृति पर्यटन पत्रकारिता पुरस्कार–२०७७ प्रदान गरिएको छ । रायमाझीलाई ५० हजार नगद र सम्मानपत्र प्रदान गरिएको छ । उहाँ लुम्बिनी खबर, राष्ट्रिय समाचार समिति र सगरमाथा टेलिभिजनमा आबद्ध हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?