राजेन्द्र ठगुन्ना
अमरगढी, असोज २३ गते । डडेल्धुरा जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा दोस्रो पटक आउनुभएका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जोगबुडाकी अस्मिता धामीको हत्या प्रकरणलाई पहिलो प्राथमिकतामा राखेर निष्पक्ष अनुसन्धान गरेर दोषी पत्ता लगाएर कानुनी दायरामा ल्याउने बताउनुभयो ।
परशुराम नगरपालिका वडा नं.७ जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत २६ वर्षीया अस्मिता धामीको २०७८ असार २ गते सामुदायिक वनभित्र शव भेटिएको थियो तर चार महिना हुँदासम्म पनि दोषी पत्ता लगाउन सकिएको छैन ।
घटना भएको लामो समयसम्म दोषी पत्ता लगाउन प्रशासनले वास्ता नगरेको भन्दै पीडित धामीका आफन्तहरुले ईलाका प्रशासन कार्यालयमा केही समय पहिले तालाबन्दी समेत गरेका थिए ।
दोस्रो पटक डडेल्धुरा जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा आउनुभएका प्रजिअ जोशीले संचारकर्मीहरुसँग भेटघाट गर्दै धामी हत्याको वास्तविक अनुसन्धान गरी दोषीलाई कारवाही र पीडितलाई न्याय दिलाउने पहिलो प्राथमिकता रहेको बताउनुभयो ।
बैतडीको भागरथी भट्ट हत्या प्रकरणको समयमा बैतडीको प्रमुख जिल्ला अधिकारीको रुपमा रहनुभएका जोशीकै पालामा हत्यारा पत्ता लागेको र डडेल्धुराको प्रमुख जिल्ला अधिकारीका रुपमा रहँदा परशुरामकी अस्मिता धामीको हत्यारा पनि कानुनी दायरामा आउने विश्वास गरिएको छ ।
संचारकर्मीहरुसँग छलफल गर्दै प्रजिअ जोशी , तस्बिर राजेन्द्र ठगुन्ना