धर्बेन्द्र झा
जनकपुरधाम, असोज २३ गते । प्रदेश २ को दुई जिल्लामा कोरोना महामारी र बाढी पहिरोको समयमा पीडित भएकालाई पोषणयुक्त अहार वितरण गरिएको छ । विशेषगरी गर्भवती र सुत्तकेरी महिला तथा बालबालिकाका लागि शनिबारबाट पोसिलो अहार वितरण गरिएको हो ।
विश्व खाद्यय कार्यक्रम र यूकेएडको आर्थिक सहयोग तथा नेपाल सरकारको समन्वयमा लाईफ नेपालद्वारा सञ्चालित आपतकालिन पोषण कार्यक्रम अन्र्तगत सो आहार बितरण गरिएको संस्थाले जनाएको छ । गर्भवती र सुत्तकेरी महिला तथा छ महिनादेखि २३ महिनाका बालबालिकालाई पोषणयुक्त अहार वितरण गरिएको छ ।
धनुषा र सर्लाही जिल्लामा उक्त कार्यक्रम सञ्चालन गरिएको आयोजकले बताएको छ । सो अन्तर्गत २७ हजार व्यक्तिलाई पोसिलो अहार वितरण गरिने लाईफ नेपालका सुरैत ठाकुरले जानकारी दिनुभयो । धनुषाको विकट क्षेत्र मानिने जनक नन्दनी गाउपालिकाको वडा नं.२ बल्हागोठबाट कार्यक्रमको औपचारिक शुरुवात गरिएको ठाकुरले बताउनुभयो ।
जनकनन्दनी गाँउपालिकाका अध्यक्ष अब्दुल शेखको विशेष उपस्थितीमा पोषण युक्त अहारको छ किलोग्रामको प्याकेट पीडित प्रत्येक व्यक्तीलाई वितरण गरिएको विश्व खाद्य कार्यक्रमका पार्वती केसीले बताउनुभयो । पोषणयुक्त आहार प्याकेजबाट सयौको संख्यामा आएका वाडाका गर्भवती र सुत्तकेरी महिला लाभान्वित भएका छन् ।
पोषणयुक्त अहार लिन आएका फुलोदेवीले कोरोना महामारीको समय आफुहरुका लागि ठूलो सहयोग पुगेको बताउनुभयो । श्रीमान बेरोजगार भएकाबेला बच्चा हुर्काउन समस्या भएकाबेला राहतले मन खुशी भएको उहाँले बताउनुभयो ।
पोसिला अहारको विषयमा आफुहरुलाई बढी जानकारी नरहेको भएपनि कार्यक्रम संचालनले फाइदा पुग्ने विश्वास भएको बताउनुभयो । धनुषाको जनकनन्दनी गाँउपालिका, कमला नगरपालिका र बटेश्वर गाँउपालिकामा यो कार्यक्रम संचालन हुने लाईफ नेपालका ठाकुरले जानकारी दिनुभयो ।