डिलबहादुर सिंह
डोटी, असोज २४ गते । दशै तिहार नजिकिएसँगै जिल्ला प्रशासन कार्यालय डोटीले बजार अनुगमनलाई तिब्रता दिएको छ । जिल्लाका प्रमुख बजार क्षेत्र दिपायल, पिपल्ला, सिलगढी, राजपुरलगायत ग्रामिण क्षेत्रमा समेत बजार अनुगमन हुन थालेको छ ।
डोटीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीकाअनुसार अनुगमनका क्रममा खाद्यान्न तथा किराना, मासु पसल, रेष्टुरेन्ट लगायतका स्थानमा ब्यापारीहरुले बिक्रिका लागि राखिएका म्याद गुज्रिएका अखाद्य बस्तु भेटिएको अनुगमन टोलीले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी जोशीले भन्नुभयो,– ‘अखाद्य बस्तु राखेको पाइएपछि दिपायल सिलगढीका मात्र ८ जना ब्यापारीलाई कारवाही गरिएको छ । प्यान दर्ता नभएका, ब्यानरमा नाम नराख्ने लगायतका ब्यक्तिहरुलाई पाँच हजार रुपियाँसम्म जरिवाना गरिएको छ ।’
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा घरेलुु तथा साना उद्योग बिकास कार्यालय, खाद्य तथा गुणस्तर कार्यालय, प्रहरी, उद्योग बाणिज्य संघ प्रतिनिधि र पत्रकारको अनुगमनमा उपस्थिति हुनेगरेको छ । सडक यातायात पुगेसँगै ग्रामीण क्षेत्रमा समेत ब्यापारिक केन्द्रहरु बिस्तार भइरहेका छन् । बजार क्षेत्रमा अनुगमन गरिने गरेको भए पनि ग्रामीण क्षेत्रका नयाँ बिस्तार भएका बजारहरुमा प्रशासनको नजर नपुग्ने गरेको गुनासो स्थानीयको छ ।
डोटीको आदर्श गाउँपालिकामा २ र ३ जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा भएको अनुगमनका क्रममा बरामद गरिएका म्याद गुज्रिएका खाद्य सामग्री सोही स्थानमा नष्ट गरिएका छन् । आदर्श गाउँपालिका –२ का वडा अध्यक्ष रामबहादुर साउँदले वडा कार्यालयको तर्फबाट ब्यापरीहरुलाई अखाद्य बस्तु बिक्रि बितरण नगर्न पटक पटक ताकेता गरेपनि स्थानीय ब्यापारीहरुले अटेरी गर्ने गरेको बताउनुभयो ।
बजार क्षेत्रबाट म्याद गुज्रिएका खाद्य बस्तुहरु ग्रामीण क्षेत्रमा बिक्रि बितरण हुनेगरेको स्थानीयको गुनासो छ । ग्रामीण क्षेत्रमा सडक यातायातको सहज पहुँच भएसँँगै बजार क्षेत्रबाट सहजै दैनिक उपभोग्य सामग्रीको ढुवानी हुनेगरेको छ । डोटीको के.आइ सिं गाउँपालिका मनिराम जोशीले भन्नुभयो, ‘ग्रामीण क्षेत्रमा त धेरैलाई खाद्य सामग्रीमा म्याद राखिएको हुन्छ भन्ने पनि थाहा हुँदैन, बिस्कुट चाउचाउ लगायतका खानेकुरामा बजार क्षेत्रमा म्याद सकिने अवस्था आएमा ग्रामीण क्षेत्रमा बिक्रि बितरणका लागि ल्याइन्छन् । यस्ता बिषयमा प्रशासनको ध्यान जानुपर्छ ।’