logo
२०८१ चैत्र २८ शुक्रवार



कैलालीमा खैरो हेरोइनसहित ६ जना पक्राउ

खुला |
प्रदेश |


कैलालीमा खैरो हेरोइनसहित ६ जना पक्राउ


अविनाश चौधरी
धनगढी, असोज २४ गते । कैलाली प्रहरीले लागुऔषध खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ । आइतबार धनगढी उपमहानगरपालिकाको विभिन्न स्थानबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार गोप्य सूचनाको आधारमा धनगढी उपमहानगरपालिका– १३ राजपुरस्थित प्रेमसागर रानाको घरबाट चार जना युवायुवतीलाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा राजपुरका आकाश राना, राजेश राना, राजकुमार राना र सुजिता राना रहेका छन् । उनीहरु सबै १८ वर्षको रहेको प्रहरीले जनाएको छ । लागुऔषध सेवन गरिरहेको अवस्थाबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो । उनीहरुको साथबाट प्रहरीले तीन ग्राम ६९० मिलिग्राम खैरो हेरोइन बरामद गरेको बताएको छ ।

‘उनीहरु प्रयोगकर्तामात्रै हुन वा ओसारपसारकर्ता पनि हुन भन्ने कुरा अनुसन्धानबाट खुल्नेछ’, विष्टले भन्नुभयो । थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । दुई दिन अगाडि मात्रै राजपुरबाट प्रहरीले ३८ वर्षीया एक महिलालाई खैरो हेरोइनसहित पक्राउ गरेको थियो ।

यसैगरी, प्रहरीले धनगढी उपमहानगरपालिका– २ रामजानकी मन्दिर नजिकबाट पनि ३.१ ग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा २५ वर्षीय राजु गुप्ता र २७ वर्षीय किरन भुजेल छन् ।

पक्राउ परेका सबैलाई लागुऔषध शीर्षकमा कानूनी कारबाही हुने प्रहरी नायब उपरीक्षक विष्टले बताउनुभयो । लागुऔषध बेचबिखन तथा प्रयोग न्यूनीकरणका लागि प्रहरीको विशेष टोली खटेको उहाँले जानकारी दिनुभयो । ‘लागुऔषधलाई हामीले प्राथमिकतामा राखेर सुरक्षा चेकजाँच, गस्ती बढाएका छौं’, विष्टले भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?