logo
२०८१ जेष्ठ ८ मंगलवार



बजार अनुगमनमा फेला परे चार वर्ष पुरानो चिसो र ६ वर्ष पुराना चकलेट

खुला |
प्रदेश |


बजार अनुगमनमा फेला परे चार वर्ष पुरानो चिसो र ६ वर्ष पुराना चकलेट


जानु पाण्डे
कपिलवस्तु, असोज २४ गते । कपिलवस्तुको बुद्धभुमी नगरपालिकामा बजार अनुगमनका क्रममा वर्षौ पुराना खाद्यवस्तु फेला परेको छन् । चाडपर्व लक्षित आइतबार नगरपालिकाको वडा ५ प्रेमनगर र वडा १० को विजगौरीबाट म्याद सकिएका खाद्य सामग्री बरामद गरी नष्ट गरिएको छ ।

नगरपालिकाका नगर उपप्रमुख मिरा चौधरीको नेतृत्वमा गरिएको अनुगमन टोलीले म्याद गएका प्याकेटमा राखिएका पत्रु खाजा (जङ्क फुड), पेय पदार्थ, मसला, तेल, चकलेट, चिप्स लगायतका वस्तु बरामद गरेको छ ।

बिहान ८ बजेदेखि सुरु भएको अनुगमनमा चार वर्ष पुराना चिसो पेयपदार्थ भेटिएको छ । ९ महिना मात्र म्याद हुने ती वस्तु बिक्री गर्न सजाएर राखेको अवस्थामा फेला परेको बुद्धभुमी नगरपालिकाका उद्योग वाणिज्य तथा सहकारी फाँटका अधिकृत विजय भुसालले बताउनुभयो ।

सन् २०१५ मा उत्पादन भएका चकलेट पसलबाट जफत गरिएको छ । एक वर्षको प्रयोग समय अवधि रहेको सो चकलेट छ वर्षसम्म पसलमा विक्रीका लागि राखेको पाइएको छ । भारतमा उत्पादन भएका बालबालिका लक्षित गरी उत्पादन भएका प्याकेटमा राखिएका धेरै सामाग्री म्याद गुज्रीएका फेला परेको अनुगमनमा सहभागी पदाधिकारीले बताउनुभयो ।

ग्रामीण भेगका चोकमा रहेका पसलको अनुगमन गर्दा म्याद गुज्रीएर कुहिएका वस्तु समेत फेला परेका छन् । नगरपालिकाले दशैसम्म हरेक वडाको पसलमा पुगेर छड्के अनुगमन गर्ने कार्यतालिका बनाई अनुगमन गरिरहेको छ । पालिकाले बजार अनुगमन सुरु गरेपछि केही पसल बन्द गरी व्यापारी भागेका अनुगमन टोलीका सदस्य गोकर्ण अर्यालले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?