logo
२०८१ मंसिर ८ शनिवार



खसीबोका बेचेर दशै खर्चको जोहो गर्दै महिला

खुला |
प्रदेश |


खसीबोका बेचेर दशै खर्चको जोहो गर्दै महिला


नवीन शिशिर विक
बागलुङ, असोज २५ गते । बागलुङको काठेखोला गाउँपालिका– ४ तंग्राम रानीकरङका चन्द्रकला पुनले यसपालीको दशैमा घरमा पालेका सातवटा खसी बोका विक्री गरेर दशैं खर्चको जोहो गर्नुभएको छ । खसीबोका विक्रीबाट उहाँले दशैमा करिव ९० हजार रुपियाँ आर्जन गर्नुभएको बताउनुभयो ।

विगतको बर्षजस्तै यस बर्ष पनि उहाँलाई दशै खर्चको जोहो गर्ने चिन्ता छैन् । घरमा पालेका बाख्राले दिएको उत्पादनले उहाँको घरखर्च राम्रोसँग चलेको उहाँको भनाई छ । पहिले एक दुई बाख्रा पालेपछि पछिल्लो चार बर्ष यता उहाँले बाख्राको संख्या बढाएर एक दर्जन बनाउनुभएको छ ।

सोही स्थानका देउरुपमा थापाले पनि दशै खर्चका लागि तयार भएका पाँच वटा खसीबोका विक्री गरेर ६० हजार रुपियाँ आर्जन गर्नुभएको बताउनुभयो । गाउँको सहकारीले घरमै आएर खसीबोका खरिद गरेपछि बजारको चिन्ता उहाँहरुलाई भएन् । दशैलाई लक्षित गरेर खसीबोका हुर्काउने गरेको पुनले बताउनुभयो ।

दशै खर्च जुटाउन कसैसँग ऋण, धन गर्न नपरेको उहाँहरुले बताउनुभयो । ‘पहिले काम गर्न नजान्दा दशैमा ऋण हुन्थ्यो, उहाँले भन्नुभयो “अहिले बाख्रा पालनबाट चाडपर्व, घर खर्च सजिलै पुग्ने गरेको छ ।” पुन र थापा मात्रा होईन तगं्रामको बसन्त सहकारी र सप्तरंगी सहकारीमा आबद्ध महिलाले बाख्रा पालन र तरकारी खेतीलाई आम्दानीको स्रोत बनाउन थालेका छन् ।

‘काम गर्ने जाँगर चलाउनु पर्छ गाउँमै पैसा रैछ’ कृषक पुनले भन्नुभयो “खोर व्यवस्थापन गरेर थप माउ बाख्रा राख्ने सोच बनाएकी छुँ ।” आफ्नो काममा परिवारका सदस्यले पनि साथ दिएको उहाँले बताउनुभयो । बसन्त सहकारी र सप्तारंगी सहकारी संस्थाले स्थानीय कृषकसँग खसी बोका संकलन गरी विक्री गरिदिएका छन् । हिमाली क्षेत्रका भेडा च्याङ्ग्राको मुल्य आकाशीय पछि उपभोक्ताको रोजाईमा स्थानीय खसीबोका परेका छन् ।

बसन्त सहकारीले २९५ र सप्तरंगीले एक २० वटा खसीबोका विक्री गरेको बसन्त सहकारी संस्थाको प्रबन्धक हेमा विकले जानकारी दिनुभयो । सहकारीमा आबद्ध कृषकबाट खसी बोका संकलन गरी विक्रीको लागि बागलुङ, पोखरा, गलकोट, काठेखोलाका विभिन्न वडामा विक्री गरिएको संस्थाले बताएको छ ।

दुई वटा सहकारीमार्फत खसी बोका विक्रीबाट गाउँमा करिव दुई करोड रुपैयाँ भित्र्यिएको सप्तरंगी सहकारी संस्थाको प्रबन्धक मनु पुनले बताउनुभयो । घरमा उत्पादित खसी विक्रीको बजार सुनिश्चित भएपछि कृषकहरु उत्साहित भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?