अविनाश चौधरी
धनगढी, असोज २५ गते । धनगढी विमानस्थलबाट बाजुरा जाने समिट एयरको जहाजमा समस्या आएको छ । सो जहाजको टायरमा समस्या आएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले जानकारी दिनुभयो ।
टायरमा खराबीका कारण सो जहाज उड्न नसकेर धावनमार्गमा रोकिएपछि अहिले धनगढी विमानस्थल अवरुद्ध भएको छ । सो विमानका कारण यहाँबाट काठमाडौंंका लागि उड्ने श्री एयरलाइन्सको जहाज पनि उड्न पाएको छैन ।
समिट एयरको जहाज ग्राउण्डेड भएको र धावनमार्गबाट हटाउने प्रयास भइरहेको प्रमुख भट्टले बताउनुभयो । ‘पाइलटले इन्जिनीयरसँग सल्लाह लिइरहनु भएको छ । सम्भवतः केही समयमा अवरोध हट्छ होला’, उहाँले भन्नुभयो ।
सो जहाज उड्न नसकेपछि काठमाडौंबाट केही समयमा धनगढी आउने बुद्ध एयरको जहाजको उडान पनि प्रभावित हुनेभएको छ । समिटको जहाज धावनमार्गबाट हटाइएमा यहाँबाट श्री एयरलाइन्सको जहाज काठमाडौंंका लागि उड्न सक्ने र बुद्धको जहाज अवतरण हुने प्रमुख भट्टले बताउनुभयो ।