चाँदनी आचार्य
लम्की (कैलाली) असोज ३१ गते । कैलालीमा श्रीमानको हत्या गरेको आरोपमा श्रीमतीसहित थप एक जनालाई प्रहरीले प्रकाउ गरेको छ । धनगढी उपमहानगरपालिका ७ बस्ने २५ वर्षीय रमेश चौधरी शनिबार विहान खुटिया नदी नजिक चौरमा मृत फेला परेपछि प्रहरीले अनुसन्धान शुरु गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रतीक विष्टकाअनुसार सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान समुह र जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीसहितको विशेष अनुसन्धानबाट मृतक चौधरीको हत्यामा आफ्नै श्रीमती अमृता चौधरी र सोही ठेगाना भएका बिष्णु चौधरीको संलग्नता रहेको आशंका गरिएको छ ।
अमृता चौधरी र विष्णु चौधरीवीच केही बर्षदेखि सम्वन्ध रहँदैआएको अमृताका श्रीमान रमेश चौधरीलाई पूर्व जानकारी रहेको र हत्या हुँदाका दिन २९ गते दुवैवीच राती समयमा घरनजिक आपत्तीजनक अवस्थामा फेला पारेपछि विष्णु चौधरीलाई हातपात गरेको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाइएको छ ।
सोही क्रममा मृतककी श्रीमती अमृता र विष्णु चौधरी मिलि रमेशको घाँटी थिचि घरदेखि १५० मिटर पर नदीको छेउ सडकनजिक चौरमा फाली घटनाबारे नबताउने सल्लाह गरी घर लागेको अनुसन्धानबाट पत्ता लागेको प्रवक्ता विष्टले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयमा आईतबार मृतकका आफन्तले विष्णु र अमृताको नाममा कर्तब्य ज्यानमा किटानी जाहेरी दिएपछि निजहरु विरुद्ध मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रवक्ता विष्टले बताउनुभयो ।