logo
२०८१ मंसिर ८ शनिवार



दार्चुलाका छोटी भन्सार कार्यालय पुनःस्थापना गर्न माग

खुला |
प्रदेश |


दार्चुलाका छोटी भन्सार कार्यालय पुनःस्थापना गर्न माग


लोकेन्द्र जोशी
दार्चुला, असोज ३१ गते । दार्चुलाको पाँचवटा छोटी भन्सार कार्यालयहरु स्थानीयहरुले पुनस्र्थापनाको माग गरेका छन । लामो समयदेखि बन्दरहेका भन्सार कार्यालयहरु बन्द हुँदा राज्यले ठूलोमात्रामा राजस्व समेत गुमाउँदैआएको छ ।

व्यास गाउँपालिका–१ मा रहेको तिंकर र सीतापुल, महाकाली नगरपालिका–९ मा रहेको दत्तु, मालिकार्जुन गाउँपालिका– ७ मा रहेको जौलजिवी र लेकम गाउँपालिका–३ मा रहेको लाली छोटी भन्सार कार्यालय अहिले बन्द अवस्थामा छन् । अहिले दार्चुला सदरमुकाम खलंगास्थित छोटी भन्सार कार्यालय मात्रै सञ्चालनमा छ ।

स्थानीयको अनुरोधमा सम्बन्धित स्थानीय तहहरुले अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा रहेका भन्सार कार्यालय पुनःस्थापना गर्न र लाली र तिंग्रम झोलुंगे पुल बनेपछि थप भन्सार कार्यालय राख्न माग गरेका हुन् ।

व्यासको सीमा तिंकर र सीतापुलमा छोटी भन्सार कार्यालय पुनःस्थापनाका लागि पटक पटक अनुरोध गरेए पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको व्यास गाउँपालिका–१ का वडाअध्यक्ष अशोकसिंह बोहराले जानकारी दिनुभयो । तिकंर र सीतापुल भन्सार कार्यालय बन्द भएपछि भारत र चीनसँगको व्यापारमा समस्या हुनुका साथै बर्षेनी राज्यको राजश्व गुमिरहेको उहाँले बताउनुभयो ।

लेकम गाउँपालिकाले पनि दुई वर्षदेखि लालीमा नेपाल–भारत जोड्ने झोलुंगे पुल बनेपछि छोटी भन्सार कार्यालय स्थापनाका लागि पत्र पठाए पनि सरकारले सुनुवाइ नगरेको जनाएको छ । विगतमा लालीमा भन्सार कार्यालय रहेकोमा पछिल्लो समय बन्द छ ।

लालीमा छोटी भन्सार कार्यालय सञ्चालनका लागि गाउँ कार्यपालिकाबाट निर्णय गरेर सिफारिस गरे पनि सरकारले भन्सार कार्यालय स्थापना नगरिदिएको गाउँपालिका अध्यक्ष परमानन्द जोशीले बताउनुभयो । दत्तु र जोलजिवीमा समेत भन्सार कार्यालय पुनःस्थापना नहुँदा स्थानीयले सीमा क्षेत्रमा विभिन्न समस्या भोग्नुपरेको बताएका छन् ।

भारत र चीनसँग जोडिएका सीमानाकामा व्यापारको राम्रो सम्भावना रहेकाले छोटी भन्सार कार्यालयहरु छिटो पुनःस्थापना गर्नुपर्ने व्यापारीहरुले माग गरेका छन् । भन्सार कार्यालय स्थापनाका लागि औपचारिक र अनौपचारिक रुपमा आग्रह गर्दा सरकारले सुनुवाइ नगरेको दार्चुला उद्योग वाणिज्य संघले जनाएको छ ।

भन्सार कार्यालय नभएकै कारण भारतबाट व्यापारका लागि सामग्री भित्र्याउन र स्थानीय बजारमा सामान बिक्री गर्न समस्या भएको लेकमका एक व्यापारी पुष्पराज जोशीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?