चन्द्र पन्दाक
ताप्लेजुङ, कात्तिक २ गते । ताप्लेजुङमा निरन्तरको वर्षाले किसानले लगाएको धान तथा कोदो बालीमा क्षति पु¥याएको छ । दुई दिनदेखि निरन्तर वर्षा भइरहेको र वर्षाले पाक्न लागेको धान साथै कोदो बालीमा नराम्ररी क्षति पु¥याएको हो ।
स्थानीय किसानका अनुसार आइतबार रातिदेखि शुरु भएको वर्षाको क्रम नरोकिएपछि पाक्न लागेको धान र कोदो ढलेर सखाप भएको छ । सोमबार दिउँसो वर्षा हुने (पानी पर्ने) क्रम रोकिए पनि साँझपछि पुनः शुरु भएको छ । निरन्तरको वर्षाका कारण पाक्न लागेको र कुनैठाउँ पसाउन लागेको धान तथा कोदो बाली ढलेर क्षति पुगेको जिल्लाका किसानले बताएका छन् ।
सिदिङ्वा गाउँपालिका–४ साब्लाखुका किसान पूर्णकुमार लिम्बूले दुई अघिदेखि वर्षा शुरु भए पनि सोमबार साँझसम्म नढलेको बाली रातिदेखि ढल्न थालेको बताउनुभयो । वर्षाका कारण पाक्न लागेको धान र कोदो बाली ढलेर क्षति पुगेको लिम्बूले बताउनुभयो । वर्षा अझै निरन्तर कायम रहेमा बाँकी रहेको सबै बाली ढलेर सखाप हुने र किसानले ठूलो क्षति बेहोर्नुपर्ने अवस्था आउनसक्ने उहाँको भनाइ छ ।
यस्तै मैवाखोला गाउँपालिका–१ का किसान इन्द्रबहादुर लिम्बूले पनि पाक्न लागेको धानबालीमा वर्षाले नराम्ररी क्षति पु¥याएको बताउनुभयो । लिम्बूका अनुसार गाउँका सबै किसानले लगाएको धान र कोदो बाली ढलेर सखाप भएको छ । उता आठराई त्रिबेणी गाउँपालिका–२ फूलबारीका किसान खेम गौतमका अनुसार निरन्तरको झरीले धान र कोदो बाली साथै हिजोआजा फूल खेल्दै गरेको अन्य बालीमा क्षति पुगेको छ ।
यसरी जिल्ला भरका किसानले लगाएको बालीमा निरन्तरको वर्षाले क्षति पु¥याएको छ । अझै वर्षा नरोकिए खेती बालीमा थप क्षति पुग्नेभन्दै किसानहरु चिन्तित बन्न थालेका छन् । यसवर्ष जिल्लामा आठ हजार ६०० हेक्टर क्षेत्रफल बढी जमिनमा किसानले धान खेती लगाएका छन् । जिल्लाको माथिल्लो लेक क्षेत्रमा धान पाकेर थन्क्याउने बेला भएको छ भने औल बेँसी क्षेत्रमा अलि ढिलो रोपेको भर्खर पसाउँदै गरेको किसानले बताएका छन् ।
यता वर्षाको क्रम मङ्गलबार बिहानसम्म नै जारी छ । पानी पर्ने क्रमलाई रोकिने छाँट नरहेको स्थानीयले अनुमान लगाएका छन् । मङ्गलबार बिहान ८ः३० बजेको मापनअनुसार जिल्लामा ८.७ मिलिमिटर वर्षा भएको मौसम विज्ञान तथा फिल्ड कार्यालय ताप्लेजुङले जानकारी दिएको छ ।