logo
२०८२ भाद्र २१ शनिवार



लोकमार्गसहित गाउँका दर्जनौं सडक फेरि सुनसान बन्दै

खुला |
प्रदेश |


लोकमार्गसहित गाउँका दर्जनौं सडक फेरि सुनसान बन्दै
पहिरोले अवरुद्ध बन्दै गएको साँफे मार्तडी लोगमार्ग अन्तर्गत पर्ने बल्दे सडक । तस्बिर - शेरबहादुर सार्की



शेरबहादुर सार्की
बाजुरा, कात्तिक ४ गते । पाँच महिनादेखि बल्ल सञ्चालनमा आएको साँफे–मार्तडी लोकमार्गसहित गाउँका दर्जनौं सडक अविरल वर्षाका कारण पुनः अवरुद्ध बनेका छन् । गत असोज ३१ गते देखि कात्तिक महिनाको ३ गतेसम्म परेको अविरल वर्षाका कारण जिल्लाको साँफे मार्तडी लोकमार्गसहित गाउँका दर्जनौभन्दा बढी ग्रामीण सडकमा तलमाथिबाट पहिरो बग्न थालेपछि ती सडक पुनः अवरुद्ध बन्दै गएका हुन् ।

जिल्ला प्रशासन कार्यालय बाजुराको पहल तथा स्थानीय तहको सहकार्यमा दशैँ अगाबै जिल्लाका ती सबै सडक सञ्चालनमा ल्याएका थिए ।भिषण वर्षाका कारण सो सडकको तलमाथि दुबैतिरबाट पहिरो बग्न सुरु भएपछि अहिले ती सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

गत जेठको २३ गते देखि असोजको पहिलो हप्ता सम्म पर्दै आएको अविरल वर्षातले जिल्लाको बाजुर्गाडदेखि मार्तडी सडक खण्ड विगत पाँच महिना देखि अवरुद्ध बनेको थियो । अवरुद्ध सडक खुलाउन जिल्ला प्रशासन कार्यालयले सडक डिभिजन अछामलाई जानकारी गर्दैै आए पनि पानी पर्न नरोकिएपछि सडक अझै सुचारु हुन नसकेको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनुभयो ।

बार्जुगाडदेखि बल्दे अम्कोट हुँदै मार्तडीसम्म अवरुद्ध सडक दशँै अगावै सञ्चालमा आएको थियो । सडक सुचारु भएको दुई हप्ता पछि सो सडक बिग्रिएकाले मर्मत गर्न केही समय लाग्ने सडक डिभिजन साँफेबगरले जनाएको छ । सवारी साधान मार्तडीमा नपुग्दा जिल्लाका व्यापारीहरुलाई समान ढुवानी गर्न सास्ती खेप्नु पर्ने अवस्था भने अहिले पनि पहिले कै जस्तो भएको छ ।

तिहारको समयमा व्यापारीहरुलाई सामान ढुवानी गर्न असहजता हुने भएपछि उपभोक्ताले पनि चर्को मूल्यमा दैनिक उपभोग्यका सामान खरिद गर्दा महँगीको मार खेप्नुपर्ने अवस्था आएको छ ।

केही दिन अघि गाउँमा गुड्दै आएका सवारी साधान अहिले लोकमार्गमा मै अलपत्र परेका छन् । अहिले लोकमार्गमै सवारी साधन रोकिन थालेपछि गाउँका दर्जनौ ग्रामीण सडक फेरि सुनसान बन्दै आएपछि सामान ढुवानी तथा आवागमन कार्यमा समस्या भएको मार्तडी गैरी बजारका होटेल व्यवसायी रामबहादुर बुढाले बताउनुभयो ।

जिल्लाको बडिमालिका ,बूढीगङ्गा , त्रिवेणी नगरपालिका र ,खप्तड छेडेदह, गाउँपालिकाका लागतयका दर्जनौ सडक पहिरोका कारण अवरुद्ध बनेका छन् । त्यसैगरी जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने बूढीनन्दा , हिमाली, जगानाथ स्वामिकात्र्तिक गाउँपालिकाका सडक पनि अविरल वर्षाले बाटो बिग्रिएपछि सुनसान बन्दै गएका हुन् ।

सडक अवरुद्ध हुँदा जेठदेखि असोजसम्म यातायातको सुविधाबाट वञ्चित हुँदै आएका जिल्लावासी हिउँदमा पनि सो सुविधा लिन नपाएको दुःखेसो गर्छन् । केही दिन अघि डोजरको निरन्तरताले सदरमुकाम मार्तडीसम्म साना सवारी साधान जीप र ट्रयाक्टर सुचारु भएको थियो ।
साँफे मार्तडी सडक खण्ड अन्तर्गत पर्ने बल्दे अम्कोटमा पहिरो बग्न सुरु भएपछि लामो दूरीको सवारी साधान बल्देमै रोकिएको महाकाली यातायात बस चालक खडक रावतले बताउनुभयो ।

बिहीबारदेखि बाजुरामा पनि मौसममा सुधार आएकाले सडक डिभिजन कार्यालयलाई जानकारी गरेर केही दिन भित्रै सडक सुचारु गर्ने योजनामा रहेको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?