logo
२०८१ मंसिर ८ शनिवार



वर्षाले लमजुङमा ७२ हेक्टर धा खेतीमा क्षति

खुला |
प्रदेश |


वर्षाले लमजुङमा ७२ हेक्टर धा खेतीमा क्षति
फाइल तस्विर


बेलिना थापा
लमजुङ, कात्तिक ४ गते । असोज ३१ गतेदेखि परेको अविरल वर्षाका कारण लमजुङमा ७२ दशमलव २१ हेक्टर क्षेत्रफलमा लगाइएको धान खेतीमा क्षति पुगेको छ । कुल क्षेत्रफल १४ हजार ९ सय ७३ हेक्टरमा धान खेती गरिएकोमा करिव ० दशमलव ५ प्रतिशत क्षेत्रफलमा क्षति पुगेको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ ।

कार्यालयका प्रमुख सुदिप खतिवडाकाअनुसार क्षति भएका क्षेत्रफलमा न्यून मात्रा पूर्णक्षति भएको छ । अधिकांशमा आंशिक क्षति पुगेको छ । जिल्लामा ४५ हजार ९ सय ९० मेट्रिक टन अनुमानित उत्पादन हुने देखिएको थियो ।

यस्तै, किसानले लगाएको काउली, बन्दा लगायतको तरकारीमा, नर्सरीमा क्षति भएको जानकारी आएको प्रमुख खतिवडाले बताउनुभयो । धान काटिसकेको ठाउँमा केही क्षति भएपनि धान नकाटेको ठाउँमा भने धेरै क्षति भएको छैन । पानी रोकिन थालेकाले बढी समस्या नहुने र मौसमसम्बन्धी सचेत भएर मात्र कृषिबाली भित्र्याउन किसानलाई अनुरोध गर्नुभयो ।

कृषि ज्ञान केन्द्र लमजुङका अनुसार १ हजार ३ सय ५० हेक्टरमा तरकारी खेती गरिएकोमा ७ हेक्टरमा क्षति पुगेको छ । करिब १४ हजार १ सय ७५ मेट्रिक टन तरकारी उत्पादन हुने अनुमान थियो । कृषि प्रसार अधिकृत किरणराज सापकोटाका अनुसार चार नगरपालिका र चार गाउँपालिकाको कृषि शाखाबाट प्राप्त तथ्याङ्कअनुसार ११ हेक्टर क्षेत्रफलमा लगाइएको कोदोबालीमा क्षति पुगेको छ ।

कोदो ७ हजार ६०० हेक्टर क्षेत्रफलमा लगाइएको थियो । करिव ७ हजार ६ सय मेट्रिक टन कोदो उत्पादन हुँदैआएको छ । यस्तै, दलहनमा मासबालीमा क्षति भएको छ । ३ सय ८० हेक्टरमा मासखेती गरिएकोमा केही ठाउँमा क्षति भएको छ । कुल क्षेत्रफलमा गरी अनुमानित ३ सय १९ मेट्रिक टन मास उत्पादन हुँदैआएको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ ।

वर्षाका कारण अन्नबालीमा क्षति भएकाले उत्पादन केही मात्रामा घट्ने अनुमान गरिएको छ । ज्ञान केन्द्रले उक्त तथ्याङ्क स्थानीय तहका कृषि शाखाका प्राविधिक र जिल्लाका अगुवा किसानसँगको सहयोगमा तयार पारेको जनाएको छ । यस्तै प्राविधिकहरुले फिल्ड अनुगमनको आधारमा तयार पारिएको केन्द्रले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?