लक्ष्मण पौडेल
भैरहवा, कात्तिक ४ गते । रुपन्देही प्रहरीले ६ महिनामा झण्डै ६ करोड रुपियाँ बराबरको तस्करीको सामान बरामद गरेको छ । गत वैशाखदेखि कात्तिक ४ गतेसम्मको अवधिमा पाँच करोड ९६ लाख आठहजार ४३७ रुपियाँ बराबरको तस्करीको सामान प्रहरीले बरामद गरेको हो । बरामद सबै सामान भन्सार चलान गरिएको प्रहरीको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार असोज महिनामा सबैभन्दा बढी तस्करीको सामान बरामद भएको छ । यो महिना एक करोड ४४ लाख दुई हजनार ११० रुपियाँ बराबरको सामान बरामद गरी भन्सार पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी सहायक प्रवक्ता प्रहरी निरीक्षक भास्कर चन्दले जानकारी दिनुभयो ।
त्यस्तै, साउनमा एक करोड २४ लाख ९६ हजार ८१० रुपियाँ बराबरको सामान बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार वैशाखमा एक करोड चार लाख तीनहजार ४१२, जेठमा १२ लाख ७३ हजार ८८०, असारमा एक करोड पाँच लाख २९ हजार ६९६, भदौमा ८५ लाख चार हजार २८९ र कात्तिक ४ गतेसम्म १९ लाख ९८ हजार १६० रुपियाँ बराबरको तस्करीको सामान बरामद गरेको छ ।
चाडपर्वको समयमा बढी तस्करी हुनेगरेको र यसको नियन्त्रणका लागि प्रहरी गस्ती बढाइएको पनि प्रहरी सहायक प्रवक्ता चन्दले बताउनुभयो । रुपन्देहीको विभिन्न सीमानाकाबाट तस्करी गरी सामान ल्याउने क्रम नरोकिँदा राजस्वमा असर पुगेको छ ।
जिल्लाको बेलहिया नाका नेपाल–भारतबीचको मुख्य नाका भएकाले यस नाकाबाट तस्करीका घटना बारम्बार हुनेगरेका छन् । कुखुराका चल्ला, लागूऔषध, खाद्यान्न, कपडालगायतका सामग्रीको बढी तस्करी हुनेगरेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।