logo
२०८१ मंसिर १० सोमवार



पहिरोमा पुरिएर मृत्यु भएकाको सामूहिक दाहसंस्कार

खुला |
प्रदेश |


पहिरोमा पुरिएर मृत्यु भएकाको सामूहिक दाहसंस्कार


राजन रावत
हुम्ला, कातिक ४ गते । खार्पुनाथ गाउँपालिका– ५ को खर्पेलगाउँमा पहिरोले घर पुरिँदा मृत्यु भएको दुई परिवार सबैको सामूहिक दाहसंस्कार गरिएको छ । भत्किएको घरभित्र पुरिएका शवहरु निकालेर प्रहरी मुचुल्कापछि गाउँबासी मिलेर कर्णाली नदीको तीरमा सामूहिक दाहसंस्कार गरिएको हो ।

छिमेकी दिलबहादुर शाहीले पहिरोमा परी मृत्यु भएका एउटै घरका ६ जना सदस्यको कर्णाली नदीको खार्पु दोभानमा सामूहिक दाहसंस्कार गरिएको बताउनुभयो । प्रहरी, सेना जनप्रतिनिधि र स्थानीय मिलेर भत्किएको घरभित्र च्यापिएको अवस्थामा रहेका लाशहरु निकालेर धार्मिक विधिअनुसार नदी तीरमा लगेर दाहसंस्कार गरिएको हो । मृत्यु हुनेमा धनवीर शाहीको घरका पाँच जना र अलिन्द्र शाहीको एक जना सदस्यको मृत्यु भएको थियो ।

तीन दिन लगातारको वर्षासँगै पहिरोमा घर पुरिएपछि एउटै घरमा बस्ने दुई परिवारका ६ जनाको ज्यान गएको छ । गत मङ्गलबार राती नौ बजे माटोको ढिस्कोसहित आएको पहिरोमा परी सबै जनाको घरमै चेपिएको अवस्थामा मृत्यु भएको थियो ।

पहिरोमा घर पुरिएर मृत्यु हुने दुई परिवार सदस्यमा ७० वर्षका धनवीर शाही, ५५ वर्षका कलबहादुर शाही, ४० वर्षकी आशा शाही, पाँच वर्षे हुमेश शाही, तीनवर्षे बालक जसबहादुर शाही र अर्को परिवारका १३ वर्षको अलिन्द्र शाही थिए । पहिरोमा पुरिएर एउटा परिवारका सबै सदस्यको ज्यान गुमेको थियो ।

घटनामा परी मृत्यु हुनेमा एकजना महिला र पाँच पुरुष छन् । राती खाना खाएर सुतेको बेला घर भत्किएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबाट मानवीय क्षतिका साथै घरमा भएको लत्ताकपडा, अन्नपात, भाँडाकुडा पनि पुरिएको छ । राती अबेर र बर्षा भइरहेका कारण नेपाल प्रहरी र नेपाली सेनाको टोली बुधबार बिहान मात्र सदरमुकाम सिमकोटबाट दुई घण्टा पैदल हिंडेर घटनास्थल पुगेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?