logo
२०८१ मंसिर ८ शनिवार



बिओपी स्थापनापछि चोरी तस्करीमा कमी

खुला |
प्रदेश |


बिओपी स्थापनापछि चोरी तस्करीमा कमी


हिक्मत सिंह
डडेल्धुरा, कात्तिक ५ गते । नेपाल–भारत सीमानाका महाकाली नदी क्षेत्रका विभिन्न स्थानमा चारवटा बोर्डर आउटपोष्ट (बिओपी) स्थापना भएपछि चोरी तस्करीमा कमी आएको छ ।

परशुराम नगरपालीका परिगाँउ, तातापानी, साँदनी र शिर्ष गरी चार स्थानमा सशस्त्र प्रहरी बलको बोर्डर आउटपोष्ट स्थापना गरिएको हो । बोर्डर आउटपोष्ट स्थापना भएसँगै सशस्त्र प्रहरी बलले सो क्षेत्रमा गस्ती बढाएको छ ।

भारतबाट नेपालमा हुनेगरेको चोरी तस्करीमा कमी आएको सशस्त्र प्रहरी बल परिगाँउ बेस क्याम्प प्रमुख मनोज पौडेलले बताउनुभयो । सशस्त्र प्रहरी बलले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवैध मालसमान बरामद गरेको उहाँले बताउनुभयो । तस्कहरुले भारतका विभिन्न स्थानबाट खरिद गरेर ल्याएको समान महाकाली नदीमा बिभिन्न माध्यमबाट अवैध रुपमा नेपाल भित्र्याउने गरेका छन् ।

महाकाली नदीमा ट्युबको प्रयोग गरी तस्करहरुले चिनी, बिंडी, प्लाष्टिक, गुड, मोटरसाइकल, गाडीका पार्टपूर्जा लगायत घरायसी कामका लागि प्रयोगमा आउने सामग्रीहरु चोरीछिपि ल्याउनेगरेको सशस्त्र प्रहरी गुल्म डडेल्धुराका प्रमुख सन्तोष भट्टले बताउनुभयो । उहाँकाअनुसार सीमानाकामा बोर्डर आउटपोष्ट स्थापना भएपछि अवैध क्रियाकलापमा कमी आएको जानकारी दिनुभयो ।

बिओपि स्थापनाको डेढ वर्षमा साढे ६ लाख रुपियाँ राजस्व सङ्कलन गरेको गुल्म प्रमुख भट्टले बताउनुभयो । तातोपानीमा रहेको छोटी भन्सार द्वन्द्वकालमा विस्थापित भएपछि नेपाल सरकारले वर्षेनी लाखौ रकम राजस्व गुमाउनुपरेको थियो ।
बिओपी स्थापनापछि सशस्त्र प्रहरीले राजस्व सङ्कलन गर्न थालेको छ । बिओपी स्थापनापछि चोरी तस्करीमा कमी मात्रै नआई स्थानियले पनि शान्ति सुरक्षाको अनुभूति भएको स्थानीय जयबहादुर जाग्रीले बताउनुभयो ।

विगतका दिनमा असुरक्षाको अनुभूति गर्नेगरेको भए पनि बोर्डर आउटपोष्ट स्थापना भएसँगै सुरक्षाको अनुभुति भएको स्थानीय अफिलाल महताले बताउनुभयो । नेपाल प्रहरीको पहुँच नभएका स्थानमा सशस्त्र प्रहरी बलको बोर्डर आउटपोष्ट स्थापना भएपछि अापराधिक घटनामा कमी आएकोमा स्थानीयबासी खुसी भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?