logo
२०८१ मंसिर ७ शुक्रवार



वर्षाका कारण सर्लाहीको चुरे भेगमा यातायात अवरुद्ध

खुला |
प्रदेश |


वर्षाका कारण सर्लाहीको चुरे भेगमा यातायात अवरुद्ध


जनार्जन खत्री
सर्लाही, कात्तिक ५ गते । सर्लाहीको चुरे भेगमा पुनः यातायात अवरुद्ध भएको छ । अविरल वर्षापछि बाढी आएर खोलाको बाटो बिगारेका कारण लालबन्दी बजारबाट चुरे भेगसम्म चल्ने यातायात बन्द भएका हुन् ।

जिल्लाकै सबैभन्दा दुर्गम भेगमा पर्ने लालबन्दी नगरपालिका– १४, नारायण खोलामा बाढी आएपछि सोमवारदेखि यातायात ठप्प रहेको त्यहाँका वडाध्यक्ष सुबाईसिंह ब्लोनले जानकारी दिनुभयो । वडाध्यक्ष ब्लोनका अनुसार, तीन दिनको वर्षाले दशैँअघि मात्रै मर्मत गरिएको लखन्देही खोलाको बाटो भताभुङ्ग पारेको छ । पुनः यातायात सूचारु गर्न शुक्रबारदेखि पत्थरकोटस्थित छेडा गाउँदेखि सडक मर्मत गर्न सुरु गरिएको वडाध्यक्ष ब्लोनले बताउनुभयो ।

मरिणतर्फबाट आएका दुईवटा बस बीचबाटोमा आइपुग्दा बाढी आएकाले चार दिनदेखि नारायण खोलास्थित मोटर दोभानमै रोकेर राखिएको छ । खोलामा बाढी आउनासाथ जिल्लाको चुरे भेगमा सञ्चालन हुन यातायातका साधन अवरुद्ध हुनेगरेका छन् ।

त्यसभेगमा पानी नपर्ने हिउँद महिनामा मात्रै खोलाको बगरबाटै भए पनि यातायात सञ्चालन हुनेगरेका छन् । अविरल वर्षापछि लालबन्दी बजारदेखि परवानपुर हुँदै सिन्धुलीको मरिणसम्म सञ्चालन हुने यातायात साधन पनि अवरुद्ध भएको स्थानीयको भनाइ छ ।

यस्तै, ईश्वरपुर नगरपालिकाको पिपरदमारतर्फ जाने गाडीहरु पनि सञ्चालन हुन सकेको छैन । सर्लाहीको हरिवन हुँदै सिन्धुलीको क्यानेश्वरतर्फ जाने यातायात भने सुचारु भएका छन् । तर त्यहाँको बाटो अत्यन्त जीर्ण हुँदा जोखिमपूर्ण यातायात सञ्चालन भइरहेको हरिवन नगरपालिका– १, का स्थानीयवासी राजु तामाङले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?