चन्द्र पन्दाक
ताप्लेजुङ, कात्तिक ५ गते । यसवर्ष दशैँमा बीस हजार बढी भक्तजनले ताप्लेजुङस्थित तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) को दर्शन गरेका छन् । दशैँको नवरात्रदेखि कोजाग्रत पूर्णिमाको अवधिभित्र उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन् ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेकाअनुसार दशैँको समयमा देशविदेशबाट पाथीभराको दर्शन गर्न भक्तजन आएका छन् । कोरोना भाइरस (कोभिड–१९) को जोखिम कायम रहे पनि नेपाल बाहिर भारतको सिक्किम, दार्जिलिङ लगायतका ठाउँबाट भक्तजन आएर पाथीभराको दर्शन गरेको काफ्लेले जानकारी दिनुभयो ।
प्रहरीचौकी फेदीमार्फत राखिएको तथ्याङ्कअनुसार दशैँको नवरात्रिदेखि कोजाग्रत पूर्णिमासम्म १५ दिनमित्र २० हजार बढी भक्तजनले पाथीभराको दर्शन गरेको उहाँले जानकारी दिनुभयो । यस अवधिमा ताप्लेजुङसहित पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, काठमाडौं लगायत विभिन्न जिल्लाबाट पाथीभराको दर्शन गर्न भक्तजन आएका छन् ।
दशैँपछि अहिले पनि पाथीभरामा भक्तजन आउनेक्रम जारी रहेको समितिले जनाएको छ । पाथीभरा दर्शनका लागि दशैँ तिहारको समयलाई मुख्य मौसम मानिन्छ । यही मौसममा देश विदेशबाट उल्लेख्य भक्तजन पाथीभराको दर्शन गर्न आउने गर्छन् । गतवर्षको दशैँ तिहारमा भने कोभिड–१९ का कारण पाथीभरा दर्शन बन्द गरिएको थियो । असोज १ गतेदेखि यस वर्ष पाथीभरा दर्शन खुल्ला गरिएको थियो ।