शेरबहहादुर सार्की
बाजुरा, कात्तिक ७ गते । बाजुरामा केही दिन अघि अस्थायी रुपले सुचारु भएको साँफे–मार्तडी लोकमार्ग वर्षाका कारण पुनः अवरुद्ध भएपछि स्थानीयलाई आउजाउ गर्न समस्या परेको छ । साँफे मार्तडी लोकमार्ग अन्तरगत पर्ने बल्दे, अम्कोट लगायतका ठाउँमा सडकको तलमाथि दुवैतिरबाट पहिरो खस्दा लोकमार्ग अवरुद्ध भएपछि बाजुराका स्थानीयवासीले दैनिक उपभोग्यका सामग्री ठुवानी गर्दा निकै सास्ती खेप्दै आउनुपरेको हो ।
बडिमालिका नगरपालिका ६ कोर्धका स्थानीय व्यापारी दल बडुवालले भन्नुभयो, “पसलमा सामान सकिएको पाँच दिन भयो, पहिरोका कारण बाटो बन्द भएपछि दैनिक उपभोग्य सामान ल्याउन सकिएको छैन ।”
उहाँले भन्नुभयो, “गाडी नचले पनि भरियामार्फत सामान ढुवानी गर्नुपर्ला भन्ने सोच थियो । त्यो बाटोमा मानिसलाई आउजाउ गर्न नसकिने भएपछि पसल नै बन्द गर्नुपर्ने भयो ।”
स्थानीय तहले पनि सडक सुचारु गर्नका लागि केही विकल्प खोज्नुपर्ने हो, बाटो बन्द भएको झण्डै हप्ता दिन भयो, अहिले सम्म कतैबाट पनि सडक सुचारु गर्ने पहल कदमी नभएको स्थानीयको भनाइ छ ।
लोकमार्गको तलमाथि दुवैतिरबाट पहिरो खसेपछि सडक फेरि सञ्चालन गर्न जेसीभी प्रयोग गर्नका लागि सम्बन्धित निकायमा पहल भइरहेको जिल्ला प्रहƒी कार्यालय बाजुराले जनाएको छ ।
चट्टानसहितको पहिरोले लोकमार्ग अवरुद्ध भएपछि विभिन्न मालवाहक ट्रक तथा मोटरसाइकलहरू बेतालमाण्डौ, बल्देमै रकिएको बुढीगङ्गा नगरपालिका –२ बल्देका स्थानीय व्यापारी बलबहादुर थापाले बताउनुभयो ।
थापाका अनुसार सडकमाथिबाट ठूल्ठूला ढुङ्गासहितको पहिरो आएका कारण अझै राजमार्ग खुल्न महिनाैं लाग्न सक्छ ।
पहिरोले लोकमार्ग अवरुद्ध भएको जानकारी पाएसँगै भौतिक पूर्वाधार विकास तथा सडक डिभिजन साँफेलाई सडक सुचारु गर्न जानकारी गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘असोज ३१ देखि कात्तिक ३ गते लगातार परेको पानीले सडक तहसनहस पारेकोले यति बेला बाटो तुरुन्तै सडक सुचारु गर्न सकिने अवस्था छैन ।’
स्थानीय रुपमा पनि बाटो सुचारु गर्ने केही समय लाग्ने जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनुभयो ।
सडक पहिरोमा परिणत भए पनि बाजुराका स्थानीय ज्यान जोखिममा राखेर दैनिक उपभोग्यका सामान ढुवानी गर्दै । तस्बिर – शेरबहादुर सार्की