विजयकुमार साह
ढल्केबर, कात्तिक ७ गते । हालै परेको अविरल वर्षाले धनुषामा धानबालीसँगै तरकारी बालीमा समेत नोक्सान गरेको छ । जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका ८ दिगम्बरपुरका किसानको सयौं बिघामा लगाएका गोभी, भाण्टा, गोलभेडा र खुर्सानीलगायत मौसमी तरकारीबालीमा वर्षाको पानीले नोक्सान गरेको हो । बर्षाले तरकारी बाली क्षति पुगेपछि यहाँका किसान चिन्तामा छन् ।
उम्रँदै गरेका सागसब्जीका बिरुवा र लहरे तरकारीबाली गलेर नोक्सान भएको किसान शिवनारायण यादवले बताउनुभयो । उहाँले पाँच कठ्ठा खेतमा लगाएको तरकारीबाली ७५ प्रतिशतसम्म नष्ट भएको जानकारी दिनुभयो ।
यादवले सय बिघा जमिनमा लगाइएको तरकारी बाली नष्ट हुँदा करिब एक करोड रुपियाँ मूल्यबराबरको क्षति भएको जानकारी दिनुभयो । तरकारी बिरुवा डुबानमा परेर नोक्सान भएको भए पनि तत्काल नयाँ बिरुवा रोप्ने वातावरण नरहेको किसान रामचन्द्र चौधरीले बताृउनुभयो ।
दिगम्बरपुरकी गङ्गावतीप देवीले बारीमा लगाइएको तरकारी बाली नष्ट भएपछि वर्षदिनको कमाइ खेर गएको बताउनुभयो । कोभी, भाण्टा, गोलभेडा र खुर्सानी गरी सबै नष्ट भएको उहाँको भनाई छ । खेतीबाट नै जीवन धान्न गरिए पनि वर्षाले तरकारी खेतीबाली नोक्सान गरेपछि समस्या परेको उहाँले बताउनुभयो ।
तरकारी बालीमै निर्भर दिगम्बरपुरका ९० प्रतिशत किसानको जीवन खेतिपातीबाटै गुजारा गर्दै आएका थिए । यहाँका किसानले उत्पादन गरेको तरकारी ढल्केवर, महेन्द्रनगर र जनकपुरलगायत नजिकको बजारमा खपत हुने गरेको छ ।
जिल्लाको मिथिला नगरपालिका, बटेश्वर गाउँपालिका र गणेशमान चारनाथ नगरपालिकाका किसानले मुख्यरुपमा तरकारी उत्पादन गर्दैआएका छन् । यी क्षेत्रमा वर्षाको पानीले तरकारी बालीमा नोक्सान पुगाएपछि स्थानीय कृषक चिन्तित भएका छन् ।