logo
२०८१ मंसिर ८ शनिवार



डोटीको ग्रामीण क्षेत्र सडक सञ्जालबाट विच्छेद

खुला |
प्रदेश |


डोटीको ग्रामीण क्षेत्र सडक सञ्जालबाट विच्छेद


डिलबहादुर सिंह
डोटी, कात्तिक ७ गते । गत असोज ३१ गतेदेखि लगातार तीन दिनसम्म परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले सडक भत्किएसँगै डोटीको ग्रामीणक्षेत्र सडक सञ्जालबाट विच्छेद भएको छ । डोटीको दिपायल बोगटान सडक, दिपायल पात्तिहाल्ने सडकलगायत साना–ठूला ग्रामीण सडकहरु पहिरोका कारण भत्किएसँगै ग्रामीण क्षेत्रमा दैनिक उपभोग्य वस्तु ढुवानीलगायत यातायातमा समस्या भएको छ ।

डोटीको प्रमुख जिल्ला अधिकारी शंकरबहादुर बिष्टले स्थानीय तहहरुले सडक सूचारु गर्न पहल गरिरहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी बिष्टले भन्नुभयो, “स्थानीय तहहरुले आफूसँग भएको स्रोत साधन प्रयोग गरेर पहिरो पन्छाउने काम गरिरहेका छन् । पहिरोले सामान्य क्षति गरेका स्थानमा एक–दुई दिनमा सडक सञ्चालनमा आउँछ ।’

ग्रामीण सडकमा मध्येडोटीको दिपायल पात्तिहाल्ने सडक अन्तर्गत सायल गाउँपालिकामा पर्ने क्षेत्रमा पहिरोले अत्यधिक क्षति गरेको बताइएको छ । सायल गाउँपालिका अध्यक्ष तेजबहादुर डुम्रेलले भन्नुभयो “कतिपय स्थानमा सडकको नाम निशान केही पनि छैन, क्षतीको एकीन विवरण आउनेबित्तिकै सडक मर्मत कार्यमा लाग्छौं ।”

पेट्रोलियम पदार्थ अभाव
स्याउले–दिपायल केआई सिंह राजमार्ग अन्तर्गत डडेल्धुराको रडुवामा गएको पहिरोका कारण यातायात बन्द भएसँगै डोटीमा पेट्रोलियम पदार्थको अभाव भएको छ । सिलगढीमा रहेको एस.जि फ्युल सेन्टरले सडक भत्किदा पेट्रोलियम पदार्थ ढुवानी हुन नसकेको भन्दै ग्राहकलाई फिर्ता पठाउने गरेको छ ।

विद्युत् सुचारु गर्न साता दिन लाग्ने
बाढी पहिरोका कारण जिल्लाका अधिकांश स्थानमा प्रशारण लाइन नै परिवर्तन गर्नुपर्ने गरी तार र पोलमा ठूलो क्षति पुगेका कारण जिल्लामा पूर्णरुपमा बिधुत सेवा सुचारु गर्न अझै एक साता समय लाग्ने बताइएको छ । बाढी पहिरोका कारण क्षती पुगेपछि सामान्य मर्मत गरेर डोटी जिल्ला सदरमुकाम सिलगढी र दिपायलमा सेवा सुचारु भए पनि ग्रामीण क्षेत्रमा अझै विद्युत् सञ्चालन भएको छैन ।

बाढीका कारण ग्रामीण सडक अवरुद्ध हुनुका साथै विद्युतका पोल र तारमा ठूलो क्षति पुगेका कारण पूर्णरुपमा सुचारु गर्न नसकिएको डोटी वितरण केन्द्र दिपायलका प्रमुख राजेन्द्रलाल देवले बताउनुभयो । शिखर नगरपालिकाका अधिकांश वडाहरु, बोगटान फुड्सिल गाउँपालिका, आदर्श गाउँपालिकाको तलारा, के.आई.सिंह गाउँपालिकाका अधिकांश वडाहरु, सायल गाउँपालिकाका अधिकांश वडामा विद्युत सेवा अझै सुचारु हुन सकेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?