लक्ष्मी चौधरी
जनकपुरधाम, कात्तिक ७ गते । बजारमा नयाँ प्रविधिका इ–रिक्सा (इलेक्ट्रोनिक रिक्सा) भित्रिएसँगै परम्परागत तीन पाङ्ग्रे रिक्सा विस्थापित भएका छन् । फाट्टफुट्ट अहिले बजारमा पुराना रिक्सा देखिए पनि सवारी नपाउँदा रिक्साचालक समस्यामा छन् ।
पाँच वर्षयता सहरका मुख्य बजार र गल्लीसम्म पुग्न यात्रुका लागि इ–रिक्सा नै निर्विकल्प छनोट बनेको छ । इलेक्ट्रिक रिक्सामा शारीरिक मेहनत कम लाग्ने, न्यून लगानीमा व्यवसाय सञ्चालन गर्न सकिने, महिला र पुरुष दुवैले सहजै चलाउन सकिने हुँदा रोजगारीका माध्यमका रूपमा यसको सञ्चालन बढावा पाएको छ ।
अहिले रोजगारको राम्रो स्रोत बनेको छ इ–रिक्साचालक महिलाको सँख्या भने औंलामा गन्न सकिने छ । धेरैका सम्पर्कमा आउनुपर्ने इ–रिक्सा चालक भएर काम गर्नु महिलाका लागि कठिन काम हो’ जनकपुरधाम उपमहानगरपालिका– २ की रिना रिमालले भन्नुभयो, “घरगुजारा गर्ने बाध्यताका कारण सडकमा केही महिला इ–रिक्सा चालक भेटिन्छन्, यो सन्तोषको विषय हो ।”
जनकपुरधाममा इ–रिक्साको चाप बढ्दै गएपछि सहरीक्षेत्रमा यातायात व्यवस्था अस्तव्यस्त बनेको छ । सडकमा हुने अव्यवस्थित पार्किङ, साँघुरा र अतिक्रमित सडक, एकअर्कालाई उछिन्ने प्रतिस्पर्धाले नगरक्षेत्रमा यातायात व्यवस्था अस्तव्यस्त बन्दै गएको स्थानीयको अनुभव छ ।
जनकपुरधाम उपमहानगरपालिका–४ का अमरेश मल्लिकले अतिक्रमणका कारण सडकको दुरवस्था र इ–रिक्सा चालकहरूबीच सडक लेन अनुशासन कार्यान्वयन नहुँदा समस्या हुनेगरेको उहाँको भनाई छ ।
सडक लेन अनुशासनको चालकले पालना नगर्दा सहरमा ट्राफिक व्यवस्थापन अप्ठ्यारोमा परेको ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख तथा प्रहरी निरीक्षक नवराज न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘दैनिक इ–रिक्साको संख्या बढ्दै गएपछि जनकपुरधामको ट्राफिक व्यवस्था जटिल बन्दै गएको छ । यसलाई समाधान गर्न पार्किङ व्यवस्था हुुनुपर्छ, अव्यवस्थित बजारीकरणलाई व्यवस्थित गर्नुपर्छ ।’
जनकपुरधाम नगरक्षेत्रमा २०७४ सालसम्म करिब ६४२ वटा इ–रिक्सा दर्ता भएको थियो । तीन तह सरकार गठन भएपछि सवारीसाधन दर्तालगायतका यातायात व्यवस्थापन प्रदेश सरकारको मातहतमा गएपछि स्थानीय तहमा अहिले यसको विवरण छैन । इ–रिक्साका सबालमा प्रदेश सरकारसँग समन्वय गर्ने कार्यविधि बनाउन लागिएको जनकपुरधाम उपमहानगरपालिकाका वरिष्ठ राजस्व अधिकृत परमेश झाले जानकारी दिनुभयो ।
इ–रिक्सा सञ्चालन प्रदेश सरकार मातहतमा गएपछि जटिलता थपिएको चालकहरूको भनाई । ‘यो उपमहानगरपालिका मातहतमै भए रुट र भाडादर कायम गराउन र कर तिर्न पहिलाझैं सजिलो हुन्थ्योे,’ जनकपुरधाम उपमहानगरपालिका– १३ का इ–रिक्साचालक हरिचन्द महाराजजीले भन्नुभयो ।