logo
२०८१ मंसिर ८ शनिवार



बेंसीसहरमा माटो परीक्षण प्रयोगशाला सञ्चालनमा आउने

खुला |
प्रदेश |


बेंसीसहरमा माटो परीक्षण प्रयोगशाला सञ्चालनमा आउने


बेलिना थापा
लमजुङ, कात्तिक ७ गते । लमजुङको बेंसीसहरमा माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने भएको छ । वल्र्ड भिजन इन्टरनेशनल नेपाल र ग्रामीण साुमदायिक विकास केन्द्र (आरसीडीसी) लमजुङले प्रयोगशाला सञ्चालनका लागि बेंसीसहर नगरपालिकालाई मेशिन हस्तान्तरण गरेको छ ।

आइतबार बेसीसहरमा एक कार्यक्रमको आयोजना गर्दै नगरपालिकालाई विद्युतीय मेशिन, टेष्ट किट्स र केमिकललगायतको सामग्री हस्तान्तरण गरिएको हो । आरसीडीसीका अध्यक्ष पद्मा गुरुङ र जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेले नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल र उपप्रमुख लक्ष्मीदेवी अधिकारीलाई प्रदान गर्नुभयो ।

नगरपालिकालाई चार लाख ६२ हजार ३ सय ९६ रुपियाँ बराबरको माटो परीक्षण मेशिन सहयोग गरिएको आरसीडीसीका अध्यक्ष पद्मा गुरुङले बताउनुभयो । उहाँकाअनुसार किसानलाई माटो परीक्षणमा सहज बनाउन सहयोग गरिएको छ । जिल्लामै माटो परीक्षण हुने भएपछि किसानले माटो अनुसार खेती गर्नसक्ने उहाँले बताउनुभयो ।

नगरपालिका र आरसीडीसीबीच माटो परीक्षण प्रयोगशाला सञ्चालनका लागि सम्झौता समेत भएको छ । सम्झौतामा आरसीडीसीका अध्यक्ष पद्मा गुरुङ र नगरपालिका प्रमुख गुमानसिंह अर्यालले हस्ताक्षर गर्नुभयो । बेंसीसहर नगरपालिका खाद्यान्न बाली, दलहन बाली, तरकारी, फलफूल खेती र पशुपालनको सम्भावना रहेको पालिका रहेकाले माटो परीक्षण गरेर आएको नतिजाअनुसार खेती गर्न सकेमा किसानलाई सहज हुने आरसीडीसीका कार्यक्रम व्यवस्थापक विश्व विनोद घिमिरेले बताउनुभयो ।

सम्झौताअनुसार नगरपालिकाले माटो परीक्षण प्रयोगशाला निर्माणका लागि आवश्यक वेसिन, रेफ्रीजरेटर साथै पानीको व्यवथापन गर्नेछ । माटो परीक्षण गर्दा लाग्ने शुल्कमा किसानलाई छुटको व्यवस्था, माटो परीक्षण पछि प्राप्त नतिजाको आधारमा गरिएको खेतीको नियमित अनुगमन गरी किसानलाई पृष्ठपोषण दिने र नतिजाप्रति पूर्ण जवाफदेहिता हुनुपर्ने बताइएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेले कृषि क्षेत्रमा नगरपालिकाले विज्ञसँग समन्वय र सम्पर्क गरी काम गर्नुपर्ने बताउनुभयो । आधुनिक कृषिको विकासका लागि सरकारको ध्यान जानुपर्ने उहाँको भनाई छ ।

नगरपालिकाका उपप्रमुख लक्ष्मीदेवी अधिकारीले प्रयोगशालामार्फत लमजुङका किसानलाई माटो परीक्षण गरी खेती गर्न सजिलो हुने बताउनुभयो । प्रयोगशालाका लागि ठाउँको खोजी गर्ने र प्राविधिकको खोजीमा नगरपालिका अघि बढ्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?