दिपकप्रसाद गौतम
वीरगञ्ज, कात्तिक ८ गते । सामाजिक अपराधका घटनाबारे कानुनमा भएको व्यवस्था र दण्ड सजायबारे चेतना अभावमा अधिकांश सामाजिक घटना हुनेगरेको धेरैको भनाई छ । बालविवाह, लैंगिक तथा महिला हिंसा हुनुमा पनि चेतना अभाव धेरै कारक भएको अगुवाहरुको बुझाई छ ।
जिल्ला स्तरीय लैंगिक हिंसा नियन्त्रण सञ्जाल समिति पर्सा र जिल्ला प्रहरी कार्यालय पर्साले सखुवाप्रसौनी गाँउपालिकाको सहकार्यमा आयोजित लैङ्गिक तथा महिला हिंसाविरुद्धको सचेतनामूलक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले त्यस्तो धारणा राख्नुभयो ।
बाल विवाह, दाइजो प्रथा, लैंगिक हिंसा, महिला हिंसा, लागुऔषध दुव्र्यसनी लगायतका विभिन्न लैंगिक हिंसा, महिला तथा बालबालिकामाथि हुने अपराधविरुद्ध सर्वसाधारणलाई सचेत पार्ने उद्देश्यसाथ सचेतना कार्यक्रम सञ्चालन गरिदैआएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक बेलबहादुर पाण्डेले बताउनुभयो ।
बाल विवाह, दाइजो प्रथा, लागूपदार्थ दुव्र्यसन र कम उमेरमा हुने भागी विवाहले समाजमा बिभिन्न हिंसा तथा अपराध निम्त्यिाइरहेको पाण्डेले बताउनुभयो । प्रहरी उपरिक्षक पाण्डेले यस्तो घटना रोक्न अभिभावक, किशोर किशोरी तथा जनप्रतिनिधिहरु सचेत हुनुपर्ने उहाँले बताउनुभयो ।
संखुवाप्रसौनी गाँउपालिकाकी उपाध्यक्ष फूलमतीदेवि थरुनीले लैङ्गिक तथा महिला हिंसाका घटना सहेर नबसी स्थानीय तहमा रहेको न्यायिक समितिको सम्पर्कमा आउन सबैलाई आग्रह गर्नुभयो ।
जय हनुमान तराई विकास तथा सांस्कृतिक परिषदका कलाकारको टोलीले रामनिवास देहातीको निर्देशनमा ‘बुझलाके बाद’ (बुझे पछि) शीर्षकको भोजपुरी नाटक प्रस्तुत गर्दै हिंसा न्यूनिकरणको सन्देश प्रस्तुत गर्नुभयो ।