चन्द्र पन्दाक
ताप्लेजुङ, कात्तिक १४ गते । ताप्लेजुङको हिमाली बस्ती तोक्पेगोलाका बासिन्दा चिसो छल्न औलतिर बसाइँ सरेका छन् । चिसो मौसम शुरु भएसँगै मिक्वाखोला गाउँपालिका–५ पापुङको तोक्पेगालाका बासिन्दा चिसो छल्न बसाइँ सरेका हुन् ।
कात्तिक महिनायता चिसो शुरु भएको र चिसोसँगै तोक्पेगोला बस्ती नजिकका उच्च डाँडाहरुमा हिउँ पर्न थालेपछि त्यहाँका बासिन्दा न्यानो ठाउँ खोज्दै औलतिर बसाइँ सरेका हुन् । करिव तीन हजार ३०० मिटर उचाइमा रहेको बस्ती तोक्पेगोलाका बासिन्दा मौसमी बसाइँ सर्ने गर्दछन् । हाल बस्ती नजिक डाँडाहरुमा हिउँ पर्न थालेको र कात्तिक तेस्रो सातापछि तोक्पेगोला बस्ती रहेकै क्षेत्रमा हिउँ पर्ने भएकाले यहाँका बासिन्दा बर्सेनि मौसमी बसाइँ सर्ने गरेका छन् ।
गत वर्षको तुलनामा यसवर्ष चाँडै चिसो शुरु भएको र दिनदिनै अत्यधिक चिसो बढ्न थालेपछि तोक्पेगोलाका बासिन्दा औलतिर बसाइँ सरेका मिक्वाखोला गाउँपालिका–५ पापुङका वडाध्यक्ष डण्डु लामाले बताउनुभयो । वडाध्यक्ष लामाका अनुसार तोक्पेगोलामा हाल १३ घरपरिवार बस्दै आएका र शुक्रबार सम्ममा उनीहरु सबै परिवार औलतर्फ झरिसकेका छन् । तोक्पेगोलाका बासिन्दा चिसो छल्नलाई पापुङकै तल्लो बस्तीहरुमा मौसमी बसाइँ सरेका वडाध्यक्ष लामाले जानकारी दिनुभयो ।
अहिले औल झरेकाहरु करिव छ महिनापछि तोक्पेगोला फर्कन्छन् । चिसो मौसम सकिएपछि बैशाखतिर मौसमी बसाइँ सरेकाहरु पूरानै ठाउँ तोक्पेगोलामा पापुङका वडा सदस्यसमेत रहनुभएका स्थानीय पासाङ शेर्पाले बताउनुभयो । पशुपालन पेशामा आवद्ध रहेका तोक्पेगोलाका बासिन्दाले आ–आफ्नो पशुचौपाया तथा गोठहरु पनि तल्लो क्षेत्रमा सार्ने गरेका शेर्पाले बताउनुभयो ।
शेर्पा समुदायको मात्र बसोबास रहेको तोक्पेगोलाका बासिन्दाले घरमा ताल्चा लगाएर बसाइँ सर्ने र औल क्षेत्रमा उनीहरु आफैँले अस्थायी घर टहरा बनाएर बस्ने गर्दछन् । तोक्पेगोलाका बासिन्दा अधिकांसको तल्लो औल क्षेत्रमा पनि आफ्नो जग्गा जमिन रहेको बताइएको छ । त्यसो त केही दिनयता जिल्लामा चिसो निक्कै बढेको छ । दिन प्रतिदिन बढ्दै गएको चिसोका कारण उच्च हिमाली बस्तीका बासिन्दाहरु प्रभावित बन्दै गएका छन् भने एकहजार ८०० मिटर उचाई रहेको सदरमुकाम फुङ्लिङ बजारमासमेत चिसो बढेको छ ।