logo
२०८१ मंसिर ८ शनिवार



जङ्गली हात्तीको बथानले सामुदायिक वनको भवन भत्कायो

खुला |
प्रदेश |


जङ्गली हात्तीको बथानले सामुदायिक वनको भवन भत्कायो


कञ्चनपुर, कात्तिक १४ गते । शुक्लाफाँटा नगरपालिका– ८ फुलेलीमा रहेको बैजनाथ सामुदयिक वन उपभोक्ता समितिको कार्यालय भवन आज बिहान जङ्गली हात्तीको बथानले भत्काएको छ ।

सामुदायिक वनको कार्यालय भवन भत्काएपछि त्यसभित्र रहेका महत्वपूर्ण कागजपत्र, दराज, कम्प्युटर लगायतमा क्षति पुगेको छ । “बिहानको झिसमिसेमै आएको हात्तीको बथानले कार्यालय भवन भत्काएको छ”, सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले भन्नुभयो, “पूरै भवनको पर्खाल भत्काएकाले ठूलै क्षति भएको छ ।” कार्यालयभित्र राखेका सबै सामान कामै नलाग्ने गरी क्षति भएको उहाँले बताउनुभयो ।

केही दिनअघिदेखि हात्तीको बथान सामुदायिक वन क्षेत्रमै रहँदैआएकाले सतर्कता अपनाउँदै आएको उहाँले जानकारी दिनुभयो । सतर्कता अपनाउँदा अपनाउँदै पनि एकाएक आएको हात्तीको बथानले कार्यालय भवन भत्काएको छ । कार्यालयमा चौकीदारलगायत वनका पदाधिकारी कोही नभएकाले मानवीय क्षति हुनबाट जोगिएको उहाँले बताउनुभयो ।

केही दिनअघि मात्रै हात्तीको बथानले बेलडाँडी गाउँ नजिकै रहेको थारू सङ्ग्रहालयको भवनसमेत भत्काई क्षति गरेको थियो । झण्डै दुई साताअघि मात्रै शुक्लाफाँटा– १२ वसन्तपुरका दम्पतीको हात्तीले आक्रमण गरी ज्यान लिएको थियो । गतवर्ष पनि शुक्लाफाँटा–१ बन्साहामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?