logo
२०८१ मंसिर ८ शनिवार



तनहुँको गणनामा ९१ हजार परिवार सूचीकृत

खुला |
प्रदेश |


तनहुँको गणनामा ९१ हजार परिवार सूचीकृत


अमरराज नहर्की
तनहुँ, कात्तिक १४ गते । तनहुँमा राष्ट्रिय जनगणना, २०७८ को पहिलो चरणअन्तर्गतको गणनामा ९१ हजार परिवार सूचीकृत गरिएको छ ।

गत भदौ ३० देखि असोज १८ गतेसम्म राष्ट्रिय जनगणनाको पहिलो चरणअन्तर्गत तनहुँमा १ सय ३० जना सुपरीवेक्षकद्वारा सो सङ्ख्यामा सूचिकरण गरिएको जिल्ला जनगणना कार्यालयले जनाएको छ । विसं २०६८ को जनगणनामा जिल्लामा ७८ हजार ३०९ परिवार सङ्ख्या थियो भने जनसङ्ख्या ३ लाख २३ हजार २८८ थियो । मूल गणनापश्चात् मात्रै कति जनसङ्ख्या र परिवार थपियो भन्ने यकिन हुने जिल्ला जनगणना अधिकारी नन्दलाल सापकोटाले जानकारी दिनुभयो ।

४९० जना गणक छनोट
यसैबीच राष्ट्रिय जनगणना २०७८ को जिल्लाका १० वटै स्थानीय तहमा गरिने मूल गणनाका लागि ४९० जना गणक छनोट गरिएको छ । तनहुँको ५ वटा स्थानीय जनगणना कार्यालय रहेको स्थानमा छनोटमा परेका गणकलाई तालिम प्रदान गरिएको जनगणना अधिकारी सापकोटाले जानकारी दिनुभयो ।

शनिबारदेखि चार दिने तालिम शुरु गरिएको छ । गणनाको क्रममा गल्ती नहोस् भन्ने हेतुले गणना गर्दा अपनाउनुपर्ने तरिकाबारेमा सहभागीलाई प्रशिक्षण दिइएको प्रशिक्षक विमला कँडेलले जानकारी दिनुभयो । छनोट गरिएका गणकको कामको अनुगमन गर्ने, स्थान देखाउने, वडा कार्यालयमा सामुदायिक प्रश्नावली भर्नेजस्ता कार्यमा सुपरीक्षकहरु खट्ने जनगणना कार्यालयले जनाएको छ ।

सुपरिवेक्षकहरूले प्रारम्भिक लगत सङ्कलन गरी गणना क्षेत्र निर्धारण गरिएको र उक्त विवरणसहित गणकहरू मुल गणना कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्मका लागि घरदैलोमा खटाइने जनगणना अधिकारी सापकोटाले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?