हरि कोइराला
उर्लाबारी, कात्तिक १५ गते । दक्षिणी मोरङको सुनवर्षी नगरपालिकाले व्यावसायिक कृषि उत्पादनमा लागेका किसानलाई कृषि सामग्री वितरण गरेको छ ।
नगरपालिकाको कृषि विकास शाखाले कुलो, पैनी नलाग्ने क्षेत्रका किसानलाई सिचाईका लागि पम्पसेटलगायत उपकरण वितरण गरेको हो । कृषि विकास शाखाका प्रमुख नरेशकुमार साहका अनुसार शाखाले मकै रोप्ने मेसिन (प्लान्टर) मकै छोडाउने उपकरण (कर्नसेलर) ५० प्रतिशत अनुदानमा वितरण गरेको हो । साहले भन्नुभयो– ‘सिचाई मोटर ४२ थान , पम्पसेट ३७ थान मकै रोप्ने मेसिन ५६ थान र मकै छोडाउने कर्नसेलर ३३ थान वितरण गरेका छौं ।!
कृषि सामग्री वितरण कार्यक्रममा नगर प्रमुख कालीप्रसाद दासले पाँच वर्षको अवधि भित्र सबै किसानसँग नगरपालिका जोडिने बताउनुभयो । उहाँले नौ वटै वडाका किसानलाई नगरपालिकाको कृषि शाखा र प्रत्येक वडाले अनुदानमा कृषि सामग्री वितरण गरिरहेको बताउनुभयो । कार्यक्रममा वडाध्यक्षहरू कमलकिशोर सिंह, तेज नारायण ताजपुरिया कृषि प्राविधिक मेलिना कार्कीले किसानका समस्या सम्बोधन गर्न नगरपालिका सधैँ तत्पर रहेको बताउनुभयो ।
किसानलाई मकै छोडाउने उपकरण वितरण गर्दै नगर प्रमुख कालीप्रसाद दास । तस्विर – हरिप्रसाद कोइराला