logo
२०८१ मंसिर ८ शनिवार



स्थानीय तहहरुले बजेट खर्च गर्न सकेनन्, पुँजीगत खर्च झनै न्यून

खुला |
प्रदेश |


स्थानीय तहहरुले बजेट खर्च गर्न सकेनन्, पुँजीगत खर्च झनै न्यून
जिल्ला समन्वय समितिको वार्षिक गोष्ठी । तस्विर – नरेन्द्र ढकाल



नरेन्द्र ढकाल
गोरखा, कात्तिक १५ गते । जिल्लाका स्थानीय तहहरुको बजेट खर्च निराशाजनक देखिएको छ । अधिकांश स्थानीय तहहरुले आफूले बनाएको बजेट खर्च गर्न सकेका छैनन् । त्यसमा पनि पुँजीगत तर्फ झनै न्यून रकम खर्च भएको देखिन्छ । आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रगति प्रतिवेदन अनुसार त्यस्तो पाइएको हो । स्थानीय तहको कार्यशैलीले जिल्लाको विकास निर्माणको अवस्था दयनीय देखाएको छ ।

गण्डकी गाउँपालिकाले जिल्लामा सबैभन्दा कम अर्थात ३३ प्रतिशत मात्र पुँजीगत खर्च गरेको छ । उक्त गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ मा कुल ४२ करोड ८३ लाख ४३ हजार १४० रुपैयाँ बजेट विनियोजन गरेको थियो । त्योमध्ये पुँजीगत तर्फ १३ करोड ९३ लाख ९५ हजार ९४८ रुपैयाँ छुट्याइएको थियो ।

चालु तर्फ भने ६७ प्रतिशत खर्च भएको छ । उक्त शीर्षकमा २८ करोड ८९ लाख ४७ हजार १५६ रुपैयाँ विनियोजन भएको थियो । त्यसमध्ये २४ प्रतिशत अर्थात छ करोड ८८ लाख २५ हजार ८०३ रुपैयाँ प्रशासनिक काममा खर्च भएको छ । यसैगरी, २२ करोड एक लाख २१ हजार ३५३ अर्थात ७६ प्रतिशत रकम अन्य र्शीषकमा खर्च भएको उक्त गाउँपालिकाको वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख छ ।

सिरानचोक गाउँपालिकामा पनि ३६.८६ प्रतिशत मात्र पुँजीगत शीर्षकको रकम खर्च भएको छ । गत वर्ष कुल ७७ करोड ४६ लाख ७६ हजार ९७६ रुपैयाँ बराबरको बजेट निर्माण गरिएको थियो । त्यसमध्ये ५८.५९ अर्थात ४५ करोड ३९ लाख १५ हजार ९४७ रुपैयाँ मात्र खर्च भएको छ । पुँजीगत तर्फ छुट्याइएको ३३ करोड ६६ लाख ९७ हजार मध्ये १२ करोड ४१ लाख दुई हजार ८४३ रुपैयाँ मात्र विकास निर्माणको काममा खर्च भएको उक्त गाउँपालिकाका प्रतिनिधि स्वास्थ्य शाखा प्रमुख टुकमान श्रेष्ठले जानकारी दिनुभयो । त्यहाँ चालु तर्फ भने ७५.३ प्रतिशत काम भएको छ । ४३ करोड ७९ लाख ७९ हजार ९७६ रुपैयाँ विनियोजन भएकोमा ३२ करोड ९८ लाख १३ हजार १०४ रुपैयाँ सञ्चालन रकम स्वरुप खर्च भएको छ ।

धार्चे गाउँपालिकाले जम्मा ६२.९८ प्रतिशत बजेट खर्च गरेको छ । जम्मा ४२ करोड ५५ लाख १६ हजार ५२० रुपैयाँ बजेट विनियोजन भएकोमा २६ करोड ८० लाख २४ हजार ३४३ रुपैयाँ मात्र खर्च भएको उक्त गाउँपालिकाले जनाएको छ । उक्त गाउँपालिकाले जम्मा ४४.८९ प्रतिशत पुँजीगत खर्च गरेको छ । पुँजीगत तर्फ छुट्याइएको १७ करोड नौ लाख २९ हजार ६८४ रुपैयाँ मध्ये जम्मा सात करोड ६८ लाख ८९ हजार ५५४ रुपैयाँ मात्र खर्च भएको छ । चालु तर्फ भने ७५.९८ प्रतिशत रकम खर्च भएको धार्चे गाउँपालिकाले जनाएको छ । उक्त गाउँपालिकाले चालु तर्फ २५ करोड ४५ लाख ८६ हजार ८३५ रुपैयाँ विनियोजन गरेको थियो । त्यसमध्ये १९ करोड ११ लाख ३४ हजार ७८८ रुपैयाँ खर्च निमित्त प्रमुख प्रशासकीय अधिकृत अमृत घलेले जानकारी दिनुभयो ।

भीमसेन थापा गाउँपालिकामा चालु तर्फ ३५ करोड ६१ लाख ६३३ रुपैया विनियोजन भएकोमा २८ करोड ७३ लाख ७२ हजार दुई रुपैयाँ खर्च भएको छ । उक्त शीर्षकमा ८०.७ प्रतिशत बजेट खर्च भएको प्रमुख प्रशासकीय अधिकृत बिजयराज वाग्लेले जानकारी दिनुभयो । यसैगरी, पुँजीगत तर्फ २८ करोड, ४९ लाख ८४ हजार ८७८ रुपैयाँ छुट्याइएकोमा १५ करोड १९ लाख ८९ हजार ६५८ रुपैयाँ मात्र खर्च भएको छ । प्रतिशतमा हेर्दा ५५.३३ प्रतिशत मात्र पुँजीगत खर्च भएको देखिन्छ । जिल्लामा कुल ६८.५३ प्रतिशत रकम खर्च भएको छ । गत आर्थिक वर्षमा भीमसेनले कुल ६४ करोड १० लाख ८५ हजार रुपैयाँको बजेट निर्माण गरेको थियो । जसमध्ये ४३ करोड ९३ लाख ६१ हजार रुपैयाँ मात्र खर्च भएको उहाँको भनाइ छ ।

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले ३८ करोड ७३ लाख ३७ हजार ४१२ रुपैयाँको प्रस्तावित बजेट निर्माण गरेको थियो । जसअनुसार ३२ करोड ४३ लाख ९८ हजार ५५० रुपैयाँ रकम प्राप्त भएकोमा चालु तर्फ २४ करोड ५४ लाख ३२ हजार ४१२ र पुँजीगत तर्फ १४ करोड १९ लाख पाँच रुपैयाँ खर्च भएको छ । जसअनुसार चालु तर्फ ५२.६३, पुँजीगत तर्फ ६५.९३ गरी कुल ५७.५ प्रतिशत बजेट खर्च भएको प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिनुभयो ।

अजिरकोट गाउँपालिकाले पुँजीगत खर्चमा ५८ प्रतिशत प्रगती हासिल गरेको छ । उक्त शीर्षकमा बिनियोजन भएको २२ करोड ७३ लाख ६३ हजार मध्ये १३ करोड ३२ लाख ५६ हजार ५९२ रुपैयाँ बिकास निर्माणका काममा खर्च भएको देखिन्छ । चालु तर्फ भने २८ करोड २२ लाख ४८ हजार १४८ रुपैयाँ विनियोजन भएको थियो । त्यस मध्ये ७४ प्रतिशत अर्थात २० करोड ९० लाख ६१ हजार २ रुपैयाँ चालु तर्फ खर्च भएको देखिन्छ ।

शहीद लखन गाउँपालिका पनि पुँजीगत खर्च नै कम देखिएको छ । त्यहाँ चालु तर्फ ८६.६४ प्रतिशत खर्च हुँदा र पुँजीगत तर्फ जम्मा ५९.५९ प्रतिशत रकम मात्र खर्च भएको छ । शहिद लखनमा चालु शीर्षकमा ४० करोड ८१ लाख ११ हजार ३२२ रुपैयाँ छुट्याइएकोमा ३५ करोड ३५ लाख ८३ हजार ८५२ रुपैयाँ खर्च भएको छ । यसैगरी पुँजीगत तर्फ १५ करोड ३० लाख ८६ हजार १८४ रुपैयाँ मात्र खर्च भएको उक्त गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन आले मगरले जानकारी दिनुभयो । पुँजीगत तर्फ २५ करोड ६८ लाख, ८५ हजार रुपैैयाँ छुट्याइएको थियो । आर्थिक वर्ष २०७७/०७८ मा उक्त गाउँपालिकाले ६६ करोड ४९ लाख ९६ हजार ३२२ रुपैयाँ बराबरको बजेट निर्माण गरेको थियो ।

आरुघाट गाउँपालिकाले गत आर्थिक वर्षमा कुल ६१ करोड २७ लाख ९० हजार रकम विनियोजन गरेको थियो । त्यसमध्ये ७५.२३ प्रतिशत अर्थात ४६ करोड १० लाख ५० हजार खर्च भएको उक्त गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत एकदेव खनालले जानकारी दिए । आरुघाटले पुँजीगत तर्फ ६४.५५ प्रतिशत अर्थात १८ करोड २७ लाख ३८ हजार रुपैयाँ खर्च गरेको छ । उक्त शीर्षकमा कुल २८ करोड ३० लाख ६२ हजार रुपैयाँ छुट्याइएको थियो । चालुतर्फ भने ८४.४० प्रतिशत वित्तीय प्रगति भएको छ । उक्त गाउँपालिकाले चालु तर्फ ३२ करोड ९७ लाख २८ हजार रुपैयाँ विनियोजन गरेको थियो । जसमध्ये २७ करोड ८३ लाख १२ हजार रुपैयाँ खर्च भएको छ ।

पालुङटार नगरपालिकाले गत आर्थिक वर्षमा ८० करोड ४६ लाख ८५ हजार रुपैयाँ वजेट विनियोजन गरेको थियो । जसमध्ये ६४ करोड ६७ लाख ७० हजार अर्थात ७८.८५ प्रतिशत रकम खर्च भएको छ । पुँजीगत तर्फ ६६.५६ प्रतिशत अर्थात २१ करोड ३३ लाख १३ हजार रुपैयाँ खर्च भएको छ । उक्त शीर्षकमा ३२ करोड चार लाख ६९ हजार रकम छुट्याइएको थियो । पालुङटारले चालु तर्फ भने ८६.७४ प्रतिशत रकम खर्च गरेको छ । चालु शीर्षकमा विनियोजन गरेको ४९ करोड ९७ लाख २१ हजार रुपैयाँ मध्ये ४३ करोड ३४ लाख ५६ हजार रुपैयाँ मात्र खर्च भएको उक्त नगरपालिकाले जनाएको छ ।

बारपाक सुलिकोट गाउँपालिकाले ५० करोेड ९० लाख ५५ हजार ८१२ रुपैयाँ अर्थात ८९.२० प्रतिशत रकम खर्च गरेको छ । गत वर्ष उक्त गाउँपालिकामा ६० करोड ५४ लाख ७४ हजार ०६३ रुपैयाँ वजेट विनियोजन भएको थियो । त्यो मध्ये पुँजीगत तर्फ १९ करोड ४२ लाख ८२ हजार ५०४ रुपैयाँ अर्थात ७३.८७ रुपैयाँ खर्च भएको छ । चालुतर्फ भने ८२.९१ प्रतिशत रकम खर्च भएको उक्त गाउँपालिका ईन्जिनियर अभिनव गौतमले बताए । उक्त शीर्षकमा ३१ करोड ४७ लाख ७३ हजार ३०८ रुपैयाँ खर्च छुट्याइएको थियो ।

गोरखा नगरपालिकाको पनि चालु खर्च भन्दा पुँजीगत खर्च कम छ । कुल बजेट एक अर्ब १० करोड आठ लाख ५६ हजार ४५ रुपैयाँको बजेट निर्माण गोनपाले गत वर्ष चालुतर्फ ७९.५१ प्रतिशत रकम खर्च गरेको छ । पुँजीगत तर्फ ७०.२२ प्रतिशत रकम खर्च गरेको गोनपा स्रोतले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?