सिराज खान
नेपालगञ्ज, कात्तिक १५ गते । कोरोना कहरका कारण डेढ वर्षदेखि बन्द रहेका नेपालगञ्जका अधिकांश क्यासिनो पुनः सञ्चालनमा आएका छन् । भारतीय पर्यटकको आवागमन सहज भएसँगै नेपालगञ्ज लगायतका सीमावर्ती सहरमा क्यासिनो व्यवसाय पुनः बढ्न थालेको छ ।
नेपालगञ्जमा सञ्चालनमा ल्याइएका क्यासिनो व्यवसायका लागि प्रमुख बजार मानिएको भारतमा कोरोना संक्रमित भेटिने दर कम हुँदै गएपछि अहिले फेरि क्यासिनो खेल्न भारतको लखनउ, गोण्डा, बहराईच, बाराबंकी, सीतापुर र लखिमपुरबाट भारतीयहरु आउन थालेका छन् ।
्भारतको केन्द्रीय राजधानी दिल्लीबाट समेत केही भारतीय क्यासिनो खेल्न नेपालगञ्ज आउनेगरेको व्यवसायीहरुले बताउनुभएको छ । सरकारले सीमाक्षेत्रलाई पहिलेको जस्तै गरेर खुला गरिदिएसँगै यहाँ सञ्चालित चारतारे र पाँचतारे होटलमा रहेका क्यासिनोले आफ्नो सेवा पुनः सुरु गरेका हुन् ।
पछिल्लो समय नेपालगञ्जमा सञ्चालित क्यासिनोमा भारतीय नागरिकको सहभागिता उल्लेख्य बढ्दैगएको बाँकेका पर्यटन व्यवसायीले जनाएका छन् । क्यासिनो व्यवसाय सञ्चालन आएसँगै तुलनात्मक रूपमा होटल व्यवसायमा पनि सकारात्मक प्रभाव परेको व्यवसायीहरुको भनाई छ ।
सीमा नाकाबाट आवागमन खुला भएसँगै एक महिना यता क्यासिनोमा आउने भारतीय पर्यटकको सहभागिता क्रमिक रुपमा बढ्दैगएको नेपालगञ्जस्थित होटल सोल्टी वेस्टेन्ड प्रिमियरले जनाएको छ । यो होटलमा क्यासिनो माजोङ संचालित छ ।
भारतीय पर्यटकलाई आवगमनमा सहज भएसँगै क्यासिनो विजनेसले पिकअप लिन सुरु गरेको होटलका महाप्रबन्धक प्रवीण सिंहले बताउनुभयो । उहाँकाअनुसार क्यासिनो प्लेयरको आगमन पहिलाकै अवस्थामा फर्किसकेको छैन । तिहारपछि व्यवसाय थप चल्ने विश्वास व्यवसायीहरुको छ । साताभर क्यासिनो खेलाडीको सहभागिता हुँदैआएको उहाँले जानकारी दिनुभयो ।
६० कोठा क्षमताको स्नेहा होटलमा सञ्चालित द बेलिज क्यासिनोमा पनि खेलाडीको आवागमन बढ्दैगएको प्रबन्ध निर्देशक देवांश राणाले बताउनुभयो । क्यासिनो खेल्न आउने भारतीय बढेसँगै यतिखेर होटलमा करिब ४० प्रतिशत अकुपेन्सी कायम हुन थालेको उहाँले जानकारी दिनुभयो ।
नेपालगञ्जमै रहेको सिद्धार्थ भ्यु होटलमा सञ्चालित ज्याकपोट गेमिङ सेन्टरमा भारतीय नागरिकको सहभागिता उल्लेख्य रुपमा वृद्धि हुँदैगएको होटलका बजार प्रमुख नवीन भट्टले बताउनुभयो । कुल १२५ कोठामध्ये १०४ वटा कोठा अपरेसनमा रहेको होटलमा यतिखेर ६० प्रतिशत अकुपेन्सी कायम हुँदै आएको उहाँले जानकारी दिनुभयो ।
नेपालगञ्ज पोखरा हवाई उडान र क्यासिनो व्यवसाय सुरु हुन थालेसँगै नेपालगञ्जका धेरैजसो होटलमा यतिखेर भारतीय पर्यटकको चहल पहल बढ्दैगएको होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिम कँडेलले बताउनुभयो ।